
लेखनाथ, १६ मंसिर। पुस ३ गतेदेखि १४ गतेसम्म लेखनाथमा सञ्चालन भइरहेको २१औँ लेखनाथ महोत्सवलाई सफल र सुरक्षित बनाउन जिल्लास्थित सबै सुरक्षा निकायहरूले पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख रुद्रादेवी शर्माले लेखनाथ महोत्सवले वर्षौँदेखि ‘महोत्सवमध्ये उत्कृष्ट महोत्सव’को पहिचान बनाउँदै ल्याएको उल्लेख गरिन्। उनले प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्दै महोत्सवलाई अझ सफल बनाउन प्रशासनको तर्फबाट पूर्ण साथ रहने प्रतिबद्धता जनाइन्।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक नविन कार्कीले महोत्सवको सुरक्षा व्यवस्थापनका लागि समन्वयात्मक रूपमा काम गर्न प्रहरी तत्पर रहेको बताए। उनले संवेदनशील सूचनाको आदानप्रदान, स्वयंसेवक परिचालन, सिसिटिभी र पार्किङ व्यवस्थापन तथा मदिराजन्य पदार्थको बिक्री–वितरणमा कडाइ गर्न आयोजक पक्षले पनि ध्यान दिनुपर्ने सुझाव दिए।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक दान बहादुर थापाले २१औँ संस्करणसम्म आइपुग्दा लेखनाथ महोत्सव अत्यन्त सफल स्थापित भएको बताए। अबदेखि महोत्सवको गुणात्मकतामा कसरी वृद्धि गर्ने भन्ने विषयमा आयोजकले बढी ध्यान दिनुपर्ने उनले उल्लेख गरे।
कार्यक्रममा स्वागत गर्दै संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले हालको आर्थिक चुनौतीपूर्ण अवस्थामा मेला–महोत्सव आयोजना गर्नु आफैँमा दुरूह भए पनि सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन यसका महत्वपूर्ण भूमिका रहेको बताइन्। उनले विगतदेखि नै सुरक्षा निकायहरूले दिएको सहयोगको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि समान सहयोगको अपेक्षा गरिन्।
कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकाल, सशस्त्र प्रहरी बल कालिका गणका प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमल्सेना, राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उप–अनुसन्धान निर्देशक प्रहरी उपरिक्षक मोहन बहादुर कुँवर, लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्वअध्यक्षहरू तथा महोत्सवका विभिन्न उप–समितिका संयोजकहरूको उपस्थिति थियो।
संघका महासचिव भरतराज ओझाको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले धन्यवाद ज्ञापन गरेका थिए।












