
पोखरा, चिप्लेढुंगा — नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटको अवस्थामा रहेको भन्दै त्यसबाट मुक्ति दिलाउन जनताको राष्ट्रिय एकता अत्यावश्यक भएको बताउनुभयो। पोखरा चिप्लेढुंगामा आयोजित ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उहाँले देशको राष्ट्रिय स्वाधीनता र सुरक्षा कमजोर हुँदै गएको दाबी गर्नुभयो।
प्रचण्डले एमाले र कांग्रेसले पाएको “दुई–तिहाइ” बहुमतले जनताका पक्षमा ठोस उपलब्धि दिन नसकेको आरोप लगाउँदै यिनै दलका कारण राष्ट्र संकटतिर धकेलिएको टिप्पणी गर्नुभयो।
“हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौँ। सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ, तर हटाइयो। भ्रष्टाचारविरुद्ध लड्न पनि नदिइयो। राष्ट्रिय स्वाधीनता जोगाउन समेत शक्ति अपुग भयो,” प्रचण्डले भन्नुभयो।

कम्युनिस्ट एकता चुनावका लागि मात्र होइन : प्रचण्ड
उहाँले सुरु गरिएको ‘एकता अभियान’ चुनावमुखी मात्र नभई राष्ट्रको रक्षा, स्वाधीनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि समेत भएको स्पष्ट पार्नुभयो।
“चुनाव त हामी जित्छौँ। तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अपरिहार्य छ,” उहाँको भनाइ थियो।

चुनाव फागुन २१ मै हुनुपर्ने धारणा
आगामी फागुन २१ गते तोकिएको निर्वाचन समयमै हुनै पर्ने भन्दै प्रचण्डले वर्तमान सरकारलाई चुनावी माहोल निर्माणमा सक्रिय हुन आग्रह गर्नुभयो। सरकार पछिल्ला दिनमा सम्बन्धित पक्षहरूसँग निरन्तर छलफलमा रहेको भन्दै चुनाव सुनिश्चित हुने विश्वास पनि व्यक्त गर्नुभयो।
“सरकारले जसको जनाधार बढी छ, उसलाई बेवास्ता गरेर चुनावी वातावरण बनाइदिएन भने ठीक हुँदैन। यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनेको हो,” प्रचण्डले स्मरण गराउनुभयो।
उहाँले जनता संगठित र सचेत नभए देश पुनः ठूलो संकटतिर धकेलिन सक्ने चेतावनी पनि दिनुभयो।
“यदि जनता जागरूक भएनन्, राष्ट्रियताको भावना बलियो बनाएनन् भने देशमा फेरि संकट आउन सक्छ,” उहाँको भनाइ थियो।

सभामा सहभागी कार्यकर्ताले प्रचण्डले उठाएका राष्ट्रिय स्वाधीनता, एकता र चुनावसम्बन्धी मुद्दालाई देश संवेदनशील राजनीतिक मोडतर्फ अघि बढिरहेको सङ्केतका रूपमा लिएका छन्।













