
धनगढी — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर राजनीतिक मोडमा पुगेकाले वामपन्थी र देशभक्त शक्तिहरूबीच व्यापक एकता आवश्यक भएको बताएका छन्। धनगढीमा आयोजित सन्देश सभामा उनले आगामी चुनावलाई नै राष्ट्रिय निकासको मुख्य बाटो बताउँदै सबैलाई चुनावी तयारीमा जुट्न आह्वान गरे।
प्रचण्डले सुदूरपश्चिम प्रदेशसँग आफूले विशेष राजनीतिक तथा भावनात्मक सम्बन्ध राखेको उल्लेख गरे। जनयुद्ध र जनआन्दोलनमा यहाँका बलिदानले देशलाई ठूलो योगदान दिएको र गणतन्त्रपछि पनि यो क्षेत्र विकासका प्राथमिकतामा रहेको उनले बताए।


हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टी १५ वटा कम्युनिस्ट घटकहरूको ऐतिहासिक एकता भएको बताउँदै यसले देशभर नयाँ ऊर्जा पैदा गरेको उनको भनाइ थियो। एमालेका देशभक्त तथा क्रान्तिकारी कार्यकर्ता पनि एउटै कम्युनिष्ट प्लेटफर्ममा एकताबद्ध हुनुपर्ने उनले जोड दिए।
देशभर चर्चामा रहेको जेएनजी आन्दोलनबारे प्रचण्डले २३–२४ गतेका घटनालाई ‘नरसंहार’का रूपमा व्याख्या गर्दै युवाका माग जायज रहेको दोहो¥याए। सरकारको बल प्रयोग गलत भएकामा उनले आत्मालोचनाको आवश्यकता औंल्याउँदै अभिभावक तथा राजनीतिक नेतृत्वले युवालाई इतिहास र राष्ट्रबारे शिक्षित बनाउनुपर्ने बताए।



उनका अनुसार जेएनजीमा रहेका धेरै युवा अहिले सही राजनीतिक पहिचानतर्फ उन्मुख हुँदै नेपाली कम्युनिष्ट पार्टीमा आकर्षित भइरहेका छन्।
केही महिना अघिको राजनीतिक संकट अत्यन्त गम्भीर मोडमा पुगेको स्मरण गर्दै प्रचण्डले २६ गते रातिसम्म ‘गणतन्त्र खारेज हुने’ चर्चा चलेको बताउनुभयो। आकस्मिक बोलाहटपछि आफू र माधवकुमार नेपाल शीतल निवास पुगेको र संविधान जोगाउन भूमिका खेलेको उनले बताए।
आगामी चुनाव नै स्थिरताका लागि मूल आधार भएको उल्लेख गर्दै उनले विगतमा संसद् विघटनमा संलग्नहरूले पुनःस्थापनाका कुरा गर्नु बेमौसमी भएको टिप्पणी गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै ‘देशलाई उल्टो दिशामा लैजाने अहंकारी प्रवृत्तिलाई जनताले सबक सिकाउने समय आएको’ उनले उल्लेख गरे।
अन्त्यमा, कृषि, उद्योग, पर्यटन, जडीबुटी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई संयुक्त रूपमा अघि बढाए मात्र देशको रूपान्तरण सम्भव हुने उनको धारणा थियो।












