मिरमिरे’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु

-


     हिडन खबर    
     मंसिर १३ गते २०८२ मा प्रकाशित


काठमाडौं । चलचित्र ‘मिरमिरे’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ। मध्यपूर्वसहितका केही देशमा यस फिल्मको प्रदर्शन राइट्स बिक्री भइसकेको निर्देशक यम शेर्पाले जानकारी दिएका छन्।

युएई, कतार, बहराइन, इजरायल र मलेसियाका लागि प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको हो।

केही समयअघि सार्वजनिक गरिएको दुईवटा पोस्टरमार्फत फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, सिर्जना निङ्लेखुप्रकाश सपूत तथा बाल कलाकार शाइसा गौचनलाई फिचर गरिएको थियो।

यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’ माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङ्लेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलका दमदार भूमिकाहरू रहेका छन्।

दयाहाङ र प्रकाश सपूतको यो पहिलो सहकार्य हो भने निर्देशक यम शेर्पा र दयाहाङको दोस्रो सहकार्य हो। यसअघि यमको पहिलो निर्देशकीय फिल्म ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए।

‘मिरमिरे’को कथा पनि निर्देशक यम शेर्पाले नै लेखेका हुन्। चलचित्रका छायाकार आलोक शुक्ला हुन्। निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा रहेका छन्। सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन् भने कार्यकारी निर्माता आरआर फिल्म्सका रोहित कट्टेल हुन्।

लाइन प्रोड्युसर वीरेन्द्र शाही, मुख्य सह–निर्देशक सुदिप कुँवर, मेकअप कलाकार सञ्जु थलाङ लिम्बु, र निर्माण नियन्त्रक दिलीप पन्त छन्।

फिल्मको देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्सले लिएको छ।