म प्रधानमन्त्री बन्ने रुचि छैन, जनताको सेवक भएर नै काम गर्छु : प्रचण्ड

-


     हिडन खबर    
     मंसिर ११ गते २०८२ मा प्रकाशित


धादिङ, मंसिर १० — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्ने विशेष इच्छा नभएको बताउँदै जनताको सेवकका रूपमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बेनिघाट–रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्दै उनले स्थानीय विकास, राष्ट्रिय राजनीति र पार्टीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन्।

कार्यक्रममा नेता राजेन्द्र पाण्डेले प्रचण्डलाई फेरि प्रधानमन्त्री देख्न चाहेको बताएका विषयमा प्रचण्डले भने, “देश र जनताले चाहे जिम्मेवारीबाट पछि हट्दिन, तर प्रधानमन्त्री बन्ने धेरै चाहना अब छैन।”

उनीले बुढीगण्डकी जलविद्युत् आयोजनालाई अघि बढाउने आफ्नो निरन्तर पहललाई स्मरण गर्दै जिम्मेवारी जुनसुकै भए पनि परियोजनाप्रति प्रतिबद्धता कायम रहने बताए।

गाउँपालिकाले ‘बेरुजु–विहीन’ तथा उच्च कार्यक्षमता प्रदर्शन गरेको भन्दै प्रचण्डले अध्यक्ष कृष्ण बहादुर थपलियाको नेतृत्वको प्रशंसा गरे।

उनका अनुसार गणतन्त्रपछि ऊर्जा, भौतिक पूर्वाधार, स्वास्थ्य र जीवन प्रत्याशामा उल्लेखनीय प्रगति भए पनि पछिल्ला वर्षमा भ्रष्टाचार र वैदेशिक निर्भरता बढ्दै जानु चिन्ताजनक छ। उनले हालैका आन्दोलनका घटनामा राज्यको कमजोरी देखिएको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलन दमन गर्नु गलत भएको टिप्पणी गरे।

संविधान र समावेशी अधिकार कमजोर पार्न खोज्ने शक्तिहरू सक्रिय रहेको दाबी गर्दै उनले वाम तथा लोकतान्त्रिक शक्तिहरू मिलेर ‘सशक्त मोर्चा’ बनाइने जानकारी दिए। देशलाई वर्तमान अराजक अवस्थाबाट निकाल्न निर्वाचन नै उत्तम विकल्प भएको उनको भनाइ थियो।

नयाँ प्रशासकीय भवनलाई ‘मौलिक तथा विशेष’ भन्दै उनले स्थानीय सेवाप्रवाह अझ प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे।