कर्णाली याक्स टोलीद्वारा मानवसेवा आश्रम रानीवन शाखाको अवलोकन

-


     हिड्न खबरदाता     
     मंसिर ११ गते २०८२ मा प्रकाशित


काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी कर्णाली याक्स क्रिकेट टोलीले बुधबार मानवसेवा आश्रम रानीवन शाखाको अवलोकन गर्दै आश्रमले सञ्चालन गरिरहेको मानवीय सेवाको उच्च प्रशंसा गरेको छ।

राष्ट्रलाई खेलकुदमार्फत अन्तर्राष्ट्रिय जगतमा परिचित गराइरहेका खेलाडीहरूले आफूहरू मात्र राष्ट्रका गहना नभई आश्रममा सेवा गरिरहेका सेवकहरू नै ‘असली नायक’ रहेको उल्लेख गरे।

टोलीका कप्तान सोमपाल कामीले सरकारले गर्नुपर्ने महत्वपूर्ण कार्यहरू आश्रमले प्रभावकारी रूपमा गरिरहेको बताउँदै, आश्रमका पदाधिकारीहरूको उच्च मनोबल, समर्पण तथा आश्रितहरूको जीवनमा देखिएको सकारात्मक परिवर्तनको खुलेर प्रशंसा गरे।

अवलोकनका क्रममा आश्रमले परिचयात्मक भिडियोमार्फत संस्थाको स्थापना उद्देश्यमाथि, सेवा क्षेत्र, देशभर विस्तार भएका शाखा तथा सडकआश्रित नागरिकहरूको जीवनपरिवर्तनका कथाहरू बारे टोलीलाई जानकारी गराएको थियो।

खेलाडी विलियम बोसिस्टाे, मार्क वाट, नन्दन यादव, गुल्सन झालगायत सम्पूर्ण टोलीको सहभागिता थियो। खेलाडीहरूले आश्रममा बसोबास गरिरहेका बुवाआमालाई आफ्नै हातले भोजन सेवा अर्पण गर्दै भावनात्मक अनुभव समेत साटासाट गरेका थिए।

आश्रम परिवारले कर्णाली याक्स टोलीलाई आगामी खेलका लागि सफलताको शुभकामना व्यक्त गर्दै, यो सकारात्मक भेटले खेलाडीहरू मात्र नभई आश्रमका आश्रित नागरिकहरूको आत्मबल र खुशीमा समेत वृद्धि गरेको जनाएको छ।