एमाले दोलखाका पूर्व सचिव भरत दुलाल नेकपामा प्रवेश

-


     हिडन खबर    
     मंसिर १० गते २०८२ मा प्रकाशित


काठमाडौं, मंसिर ९
नेकपा (एमाले) दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। दुलाललाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले स्वागत गर्दै पार्टी प्रवेश गराए।

पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत ढंगले अघि बढाउन एमालेभित्र सम्भावना नदेखिएको बताउँदै आफू नेकपामा प्रवेश गरेको स्पष्ट पारेका छन्। उनका अनुसार आजको आवश्यकता सबै कम्युनिस्ट शक्तिहरू एक ठाउँमा एकीकृत हुनु भएकाले आफू नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भएको हो।

नेकपाले दुलाललाई केन्द्रीय सदस्यका रूपमा मनोनीत गरेको छ। मनोनीनपत्रमा दुलालको एमालेमा रहँदा देखाएको दीर्घकालीन सक्रियता र नेतृत्वको कदर गर्दै उनलाई केन्द्रीय समितिको जिम्मेवारी दिएको उल्लेख छ। साथै, तोकिएको जिम्मेवारी इमान्दारपूर्वक निभाउने अपेक्षा पार्टीले व्यक्त गरेको छ।

दुलालको प्रवेशसँगै दोलखामा नेकपाको संगठनात्मक प्रभाव थप सुदृढ हुने अपेक्षा गरिएको छ।