बडिगाडको एउटा घरमा आगलागी : एकजना घाइते, ६ लाख ५० हजार बराबरको क्षति

-


     रामप्रसाद घिमिरे     
     मंसिर ८ गते २०८२ मा प्रकाशित



बागलुङ, बडिगाड – मंसिर ७

बागलुङको बडिगाड गाउँपालिका–५, दाँगमा आइतबार बिहान भएको आगलागीमा एकजना घाइते भएका छन् भने करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

दाँग डाँडखर्कका देविराम घिमिरेको घरमा ‘अदिया’ गरी बस्दै आएका बडिगाड–७ टुनिबोट निवासी चन्दन घर्तीको दुई तले गोठमा बिहान करिब ४:३० बजे पानी तताउने क्रममा एक्कासी आगलागी भएको जनाइएको छ।

आगो निभाउने क्रममा घरधनी चन्दन घर्ती घाइते भएका छन्। उनलाई उपचारका लागि गल्कोट नगर अस्पताल पठाइएको छ।

आगलागीबाट ५ वटा बोका र ४ वटा बाख्रा जलेर मरेका छन् भने २ वटा भैंसी घाइते भएका छन्। पशु चौपायासहित घरगोठ जलेर ठूलो क्षति भएको गाउँपालिकाले जनाएको छ।

घटनाको थप अनुसन्धानका लागि खार प्रहरी चौकीलाई खबर गरिएको छ। आगलागीले ‘अदिया’ गरी बसेको घर्ती परिवारमा थप संकट थपिएको स्थानीयको भनाइ छ।