नेपाली कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गर्दै

-


     हिडन खबर    
     कार्तिक २९ गते २०८२ मा प्रकाशित


नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत एक दर्जनभन्दा बढी वामपन्थी समूहहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अघि बढाइएको छ।

यसै क्रममा सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचनको प्रयोजनार्थ यही माघ ३० गतेभित्र दल दर्ता गरी प्रमाणपत्र लिनुपर्ने सूचना निर्वाचन आयोगले जारी गरेको छ। दल दर्ताका लागि आयोगमा बुझाइएका विवरणहरूबारे केही भ्रम देखिएकाले यसमा स्पष्टता दिन अनुरोध गरिएको छ।

पार्टी संयोजक र सह–संयोजक बाहेकका पद तथा समितिहरू आपसी सहमतिका आधारमा गठन हुनेछन्। यसका लागि गृहकार्य भइरहेको छ। एकीकृत पार्टीको केन्द्रीय समितिसहितका सबै संरचना पनि यही प्रक्रियाअनुसार टुंगो लाग्नेछ।

निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको हो। कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानअनुसार तत्काल उपस्थित भई हस्ताक्षर गरेका १३ जना महिला केन्द्रीय सदस्यहरूको नाम पनि त्यही सूचीमा थपेर महिला प्रतिशत पूरा गरिएको छ। यो कुनै अलग संरचना होइन, विधानअनुसार संरचना बनाउन बाँकी छ।

यसैले आयोगमा पेश गरिएको सूचीबारे कुनै भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न संयोजक क. प्रचण्डको सचिवालय सबैमा हार्दिक अनुरोध गरिएको छ।