सिगानावासीद्वारा मानवसेवा आश्रमलाई १७ लाख सहयोग

-


     हिडन खबर    
     कार्तिक २६ गते २०८२ मा प्रकाशित


बागलुङ । “सामूहिक प्रयासले ठूलो काम सम्भव हुन्छ” भन्ने उदाहरण प्रस्तुत गर्दै बागलुङ नगरपालिका–८ सिगानावासीहरूले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ उल्लेखनीय योगदान गरेका छन्।

श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा सोमबार सिगानावासीहरूको तर्फबाट आश्रमलाई १७ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो। वडाध्यक्ष छमबहादुर कार्कीको नेतृत्वमा भजन–कीर्तन र बाजागाजासहित निरयघाटस्थित महायज्ञस्थलमा पुगेका सिगानावासीहरूको बाक्लो उपस्थितिले स्थल भक्तिमय र उल्लासपूर्ण बनेको थियो।

वडा कार्यालयको पहलमा सम्पूर्ण वडावासीको सहभागितामा सानो–ठूलो रकम संकलन गरी उक्त सहयोग जुटाइएको हो। प्रत्येक नागरिकले आफ्नो आर्थिक अवस्था अनुसार योगदान गरेका छन्।

आमा समूह, महिला समूह, विद्यालय, क्लब, संघ–संस्था, युवा तथा स्थानीय जनप्रतिनिधिहरू सबैले एकजुट भएर रकम संकलन अभियान सञ्चालन गरेका थिए।

वडाध्यक्ष कार्कीले आश्रमले गरिरहेको मानवसेवा हाम्रो साझा दायित्व भएको उल्लेख गर्दै सानो योगदानले असहाय, असुरक्षित तथा अभावमा रहेका नागरिकको जीवनमा सहजता मिल्ने बताए। उहाँका अनुसार सिगाना वडावासीको सामूहिक योगदान स्वरूप पहिलो चरणमा १७ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो भने थप संकलन गरेर रकमलाई २० लाख पुर्‍याउने लक्ष्य राखिएको छ।

महायज्ञका कोषाध्यक्ष सरिता गौतमले रकम संकलन अभियानमा सिगाना वडावासीहरूको उत्साह, सहभागिता र एकताको प्रशंसा गर्दै यो सहयोग अहिलेसम्म महायज्ञमा प्राप्त भएको सबैभन्दा उच्च रकममध्ये एक भएको जानकारी दिइन्। संकलित रकम आश्रमको भवन निर्माणमा खर्च गरिनेछ।

सिगानावासीहरूको यस उल्लेखनीय सहयोगप्रति मानवसेवा आश्रम परिवारले हार्दिक आभार प्रकट गरेको छ। आश्रमले सामूहिक सहभागिता र परोपकारको भावनाले देशभरका समुदायलाई प्रेरणादायी सन्देश दिएको जनाएको छ।

मानवसेवा आश्रम बागलुङ शाखाले अहिलेसम्म २ सय २० जना सहयोगापेक्षीको उद्धार गरिसकेको छ भने हाल ६५ जना असहाय, बेवारिसे तथा आश्रयविहीन नागरिकलाई सुरक्षित आवास र सेवा प्रदान गर्दै आएको छ।

निर्माणाधीन भवन पूर्ण रूपमा सम्पन्न भएपछि अझ प्रभावकारी रूपमा सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ। श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ।