
काठमाडौँ — सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत आजदेखि देशभर अभियान सुरु गरेको छ।
सरकारले प्रत्येक वर्ष दुई चरणमा उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ— पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते। तर, यस वर्ष तिहार पर्व परेकाले पहिलो चरणको कार्यक्रम कात्तिक २० र २१ गतेका लागि सारिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।
बालबालिकामा देखिने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको हो। जुकाको औषधि भने २०५६ सालदेखि खुवाउन थालिएको हो।
पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालित गरिएका छन्।
भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग तथा रोगविरुद्ध लड्ने क्षमतामा कमी आउने समस्या देखिन्छ। पछिल्लो अध्ययनअनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ११ प्रतिशतमा भिटामिन ‘ए’ को कमी देखिएको छ।
थापाले भने, “यो जनस्वास्थ्यको मध्यम स्तरको समस्या हो। अझै पनि बालबालिकाको रगतमा भिटामिन ‘ए’ को कमी देखिन्छ। भिटामिन ‘ए’ प्राप्त हुने स्रोत बालबालिकाले पर्याप्त मात्रामा सेवन नगरेको पाइन्छ।”
















