
२०८२ कार्तिक १५, शनिबार — बागलुङ
मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि समाजसेवी उज्वल खड्काले रु. ५ लाख ११ हजार १११ सहयोग गरेका छन्। आश्रम निर्माणका लागि आगामी कात्तिक २१ देखि २८ गतेसम्म आयोजना हुने श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै सहयोग संकलनको क्रम तीव्र बन्दै गएको छ।
बागलुङ नगरपालिका–३ गुठी घर निवासी तथा हाल अमेरिका बसोबास गर्दै आएका समाजसेवी उज्वल खड्काले भवनको एक कोठा निर्माणका लागि उक्त सहयोग रकम प्रदान गरेका हुन्। आश्रमका अभिभावक शिव खड्काका अनुसार, देश र मातृभूमिप्रति गहिरो प्रेम राख्दै मानवसेवामा समर्पित हुँदै उज्वल खड्काले यो सहयोग गरेका हुन्।
महायज्ञबाट संकलित रकम अक्षयकोष श्रीवृद्धि तथा भवन निर्माणमा खर्च गरिने आश्रमले जनाएको छ। बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित महायज्ञको आयोजना गरिँदैछ।
महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथा वाचन गर्ने कार्यक्रम तय गरिएको छ। महायज्ञ सुरु नहुँदै हालसम्म रु. १० लाखभन्दा बढी रकम संकलन भइसकेको आश्रमले जानकारी दिएको छ।











