
काठमाडौं, कार्तिक ११
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखिएको जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौतीहरूको समाधानका लागि वामपन्थी शक्तिबीच एकता र साझा आन्दोलन अपरिहार्य भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रले भोगिरहेको संकटको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्र सम्भव हुने उल्लेख गरेका छन्।
उनले भने, “देशभक्त, प्रगतिशील वामपन्थी शक्तिबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ। राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो।”
प्रचण्डले सबै माओवादी धारासहितका वामपन्थीहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन्। साथै, संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन्।
उनले सन्देशमा उल्लेख गरेका छन्, “यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौतीहरू हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ।”












