
रामगोपालपुर, महोत्तरी, कात्तिक ५ — नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको स्पष्ट पार्दै राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभयो।
तिहारको अवसरमा महोत्तरीको रामगोपालपुरमा आयोजित शुभकामना आदान–प्रदान तथा वृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन, राष्ट्र बचाउनु नै मुख्य हो। आवश्यकता परे म जे जस्तो त्याग गर्न पनि तयार छु। तर जिम्मेवारीबाट भाग्ने मेरो स्वभाव होइन। अहिलेको अवस्थामा म जिम्मेवारी लिनबाट पछि हट्नेवाला छैन।”
कार्यक्रमको मुख्य आकर्षण बनेका संयोजक प्रचण्डले पार्टीको वर्तमान धारणा, आगामी रणनीति र राष्ट्रिय एजेन्डा स्पष्ट पार्नुभयो। देशमा परिवर्तनको समय चलिरहेको उल्लेख गर्दै मधेशमा जेन्सी युवाहरूको सहभागितासहित आयोजित कार्यक्रम भव्य भएको र पार्टी प्रवेशले संगठनलाई उत्साहित बनाएको बताउँदै उहाँले नयाँ युगको सुरुआत भएको घोषणा गर्नुभयो।
उहाँले भन्नुभयो, “हिजो जनयुद्ध र जनआन्दोलनका बेला हामी जेन्सी थियौँ। आज मधेशमा पहिलो पटक ६०५ जना जेन्सी युवाहरू माओवादी केन्द्रमा प्रवेश गर्नु इतिहासकै महत्त्वपूर्ण घटना हो।”
संयोजक प्रचण्डले जेन्सी र माओवादी मिलेर चुनाव लड्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “अरु दलहरूले जेन्सीका मागहरू पूरा गर्दैनन्। माओवादी नै त्यो शक्ति हो, जसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रलाई व्यवहारमा ल्याउन सक्छ।”
देश संकटमा रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय सहमतिको खाँचोमा जोड दिनुभयो। “संविधान निर्माणका बेला हामीले राष्ट्रिय सहमति कायम नगरेको भए देश भयानक दुर्घटनामा जान्थ्यो। हाम्रो भूमिकाले संविधान बचाएको हो,” उहाँले भन्नुभयो।
माओवादी केन्द्रलाई राष्ट्रिय एकताको पर्यायको रूपमा चित्रण गर्दै उहाँले भन्नुभयो, “मधेश केन्द्रित पार्टीलाई उपराष्ट्रपति बनाएर राष्ट्रिय एकता कायम गर्ने दल माओवादी केन्द्र नै हो। समावेशी लोकतन्त्र सुनिश्चित गर्ने शक्ति हामी हौँ।”
सरकारको नेतृत्व गर्दा माओवादी केन्द्रले सामाजिक न्याय, नागरिकता समस्या, मिटरब्याज पीडित, मधेशी जनताको विकासमा ठोस काम गरेको दाबी गर्दै उहाँले भन्नुभयो, “भ्रष्टाचारविरुद्धको अभियान हामीले सुरु गरेका थियौँ। तर केही मिडिया, विदेशी दलाल र अपराधीहरूले हाम्रो बदनाम गर्न खोजेका छन्।”
आत्मालोचना गर्दै उहाँले स्वीकार गर्नुभयो, “हामीबाट पनि त्रुटि भयो, कहिलेकाहीँ जनतासँग सम्बन्ध कमजोर भयो। तर अब हामी जनताको बीचमा फर्किएका छौँ।”
आगामी फागुन २१ गते तोकिएको निर्वाचनबारे कुनै अन्योल नराख्न आग्रह गर्दै उहाँले भन्नुभयो, “चुनाव हुन्छ, हुनैपर्छ। यही अहिलेको एक मात्र विकल्प हो।” निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वान गर्दै उहाँले थप्नुभयो, “मतदाता नामावली अद्यावधिक गर्नुहोस्। नयाँ मतदाताहरूको नाम लेख्नुहोस्। हामीले राष्ट्रिय एजेन्डा सेट गरिसकेका छौँ— संविधान संशोधन, भ्रष्टाचार अन्त्य, जेन्सी युवाका माग सम्बोधन र समानुपातिक प्रणाली।”
वामपन्थी एकताको नयाँ अभियान सुरु भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यो देशमा वामपन्थी जनमत सबभन्दा धेरै छ। समाजवादी मोर्चा बनाइसकेका छौँ। अब एमालेभित्रका इमानदार देशभक्तहरूसँग पनि एकता गर्ने तयारी भइरहेको छ।”
२०७४ सालको दुई तिहाइको जनमतलाई वामपन्थी एकताको उदाहरण दिँदै उहाँले भन्नुभयो, “त्यतिबेला नेतृत्व केपी ओलीजस्ता प्रवृत्तिको हातमा परेकोले त्यो असफल भयो। अब माओवादी केन्द्रको नेतृत्वमा नयाँ एकता गरिन्छ।”
२४ गते र त्यसपछिको समयमा देशभर जनताको सुरक्षामा खटिएका प्रहरीमाथि भएका ज्यादती, हत्या र पीडाले आफू गहिरो रूपमा भावुक बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मैले प्रत्यक्ष देखेँ, प्रहरी दाजुभाइ–दिदीबहिनीहरूमाथि गलत तत्वहरूले कस्तो व्यवहार गरे। त्यसैले म देश र जनताको सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मीप्रति सहानुभूति प्रकट गर्न चाहन्छु।”
कार्यक्रममा विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका जेन्सी युवासहित ६०० भन्दा बढी नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गरिएको थियो।













