जेनेरेसन जेडको आवाज हाम्रो पनि हो, माओवादी मुलधारको पार्टी बन्छ : संयोजक प्रचण्ड

-


     हिडन खबर    
     असाेज ३० गते २०८२ मा प्रकाशित


चितवन, असोज ३० — नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बिहान चितवनको भरतपुरस्थित कृष्णपुरमा रहेको जिल्ला पार्टी कार्यालय प्राङ्गणमा नेता तथा कार्यकर्तासँग भेटघाट तथा सम्बोधन गर्नुभयो। सोही स्थानमा रहेको पार्टी कार्यालय भवन केही समयअघि जलाइएको थियो।

कार्यक्रमको प्रारम्भमा उहाँले देवघाटसम्म बिहानको पैदलयात्रा (मोर्निङ वाक) गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले जेनेरेसन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायतका विषयमा स्पष्ट धारणा व्यक्त गर्नुभयो।

संयोजक प्रचण्डले सामाजिक सञ्जालमार्फत संगठित युवा आन्दोलनलाई “नयाँ राजनीतिक चेतना” को संकेतको रूपमा व्याख्या गर्दै यसले माओवादी आन्दोलनका पुराना मागहरूसँग मेल खाने बताउनुभयो। उहाँले भन्नुभयो, “युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्। भ्रष्टाचारविरोधी अभियान जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको विषय हो।”

राजधानीमा असोज २३ गते भएको आन्दोलनमा देखिएको “गम्भीर सुरक्षा लापरवाही”लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्रीको भूमिकाको आलोचना गर्नुभयो। “शान्तिपूर्ण आन्दोलनमा सुरक्षा संयन्त्रको तयारी नगरी संवेदनशीलताविहीन व्यवहारले स्थिति हिंसात्मक बन्यो। कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गोली प्रहार अन्तर्राष्ट्रिय रूपमा लज्जास्पद बन्यो,” उहाँले भन्नुभयो।

उक्त घटनापछि राति नै काठमाडौं फर्केर पार्टीको आकस्मिक बैठक बसेको र माओवादी केन्द्रले मृतकलाई सहिद घोषणा गर्दै उच्चस्तरीय छानबिन समिति गठन तथा प्रधानमन्त्रीको राजीनामाको मागसहित आधिकारिक निर्णय सार्वजनिक गरेको उहाँले जानकारी दिनुभयो।

“हामीले आन्दोलनलाई वैधानिकता दियौं, प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गर्यौं र प्रत्यक्ष समन्वयमार्फत देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउने प्रयास गर्यौं,” उहाँले स्पष्ट पार्नुभयो।

२४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठकपछि सुरक्षा जोखिम बढेपछि सेनाको समन्वयमा सुरक्षित स्थानमा जानुपरेको प्रसंग पनि उहाँले उल्लेख गर्नुभयो। “हामीलाई कसैले लिएको होइन, परिस्थिति मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रको सहायतामा सुरक्षित स्थानमा गयौं,” उहाँले स्पष्ट गर्नुभयो।

देशको वर्तमान राजनीतिक अवस्थाले निर्वाचनबाहेक अर्को विकल्प नरहेको उल्लेख गर्दै उहाँले सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो। “राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू तथा अन्तर्राष्ट्रिय समुदाय सबैले निर्वाचन नै प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन्,” उहाँले भन्नुभयो।

संसद पुनःस्थापनाको सम्भावना भए पनि उक्त एजेन्डा गौण बनिसकेको र एमाले बाहेकका सबै दल निर्वाचनमा जान सहमत भइसकेको उहाँले बताउनुभयो। एमालेभित्र पनि बहुमत चुनावको पक्षमा रहेको उल्लेख गर्दै उहाँले “ढिलोचाँडो सबै दल चुनावमा जान्छन्,” भन्नुभयो।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वप्रति लक्षित गर्दै उहाँले विगतका गल्तीहरूबाट कुनै आत्मसमिक्षा नभएको टिप्पणी गर्नुभयो। “उनको कारण अत्यधिक जनधनको क्षति भयो, तर आज पनि कुनै पश्चाताप छैन,” उहाँको भनाइ थियो।

वाम एकताको सन्दर्भमा उहाँले लामो समयदेखि छलफलमा रहेको एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिनुभयो। “समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुनेछ। केही दिनभित्र घोषणा हुनेछ। दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने हो,” उहाँले स्पष्ट पार्नुभयो।

पार्टीको भविष्यप्रति विश्वस्त देखिएका संयोजक प्रचण्डले देशभित्र र बाहिरका विश्लेषकहरूले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा अग्रस्थानमा आउने सम्भावना रहेको उल्लेख गर्नुभयो। “तीन प्रमुख पार्टीमध्ये माओवादी नम्बर एकमा आउन सक्छ भन्ने आँकलन व्यापक रूपमा भइरहेका छन्,” उहाँले भन्नुभयो।

कार्यकर्तालाई निर्वाचन तयारीलाई प्राथमिक कार्यका रूपमा लिन आग्रह गर्दै उहाँले जनताको पक्षमा काम गर्ने अवसरका रूपमा निर्वाचनमा सहभागी हुन आह्वान गर्नुभयो। “माओवादी केन्द्र फेरि जनताको विश्वास प्राप्त गरेर मुलधारको पार्टी बन्ने निश्चित छ। हामी सबैले एक भएर निर्वाचनमा जानुपर्छ,” उहाँको भनाइ थियो।