जेन्जीहरूको असली प्रतिनिधि माओवादी केन्द्र हो : संयोजक प्रचण्ड

-


     हिडन खबर    
     असाेज २९ गते २०८२ मा प्रकाशित


धादिङ, महादेवेसी, असोज २९
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डा अनुसार अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ। धादिङको थाक्रे गाउँपालिकास्थित महादेवेसीमा आयोजित पार्टीको गाउँपालिका बैठकमा सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

अध्यक्ष प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा माओवादी केन्द्र संविधान, गणतन्त्र र जनताको पक्षमा दृढतापूर्वक उभिएको बताउनुभयो।
“हाम्रो पार्टी नै जेन्जी आन्दोलन सुरु हुनुअघि नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो,” उहाँले भन्नुभयो, “जेन्जी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि माओवादी केन्द्र हो भन्ने प्रमाणित भइसकेको छ।”

सरकारमा बसेर जेन्जीहरूलाई दमन गर्ने र सडकमा उनीहरूको मागको समर्थन गर्ने पार्टी एउटै नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “सरकारमा बसेर जेन्जीहरूलाई दमन गर्ने र सडकमा उनीहरूको माग सम्बोधन गर्नुपर्छ भन्ने पार्टी एउटै हुन् भन्ने भ्रम फैलाउने प्रयास भइरहेको छ। तर हामी उनीहरू जस्ता होइनौं। माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेन्जीहरूको असली नेतृत्वकर्ता पार्टी माओवादी केन्द्र नै हो।”

निर्वाचन नहुने हो कि भन्ने आशंका नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “निर्वाचन हुँदैन कि भनेर द्विविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा भइसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा जुट्नुपर्छ।”

पाँच वटा पार्टीसँग चाँडै एकता प्रक्रिया अघि बढ्ने संकेत दिँदै अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकबाट जेन्जीका माग अनुसार नेतृत्व तहमा युवालाई ल्याउने नीतिगत निर्णय भइसकेको जानकारी दिनुभयो। पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

अध्यक्ष प्रचण्डले संविधान निर्माणको समयदेखि माओवादी केन्द्रले उठाउँदै आएको एजेण्डा र जेन्जीका माग एउटै भएको उल्लेख गर्दै देश अहिले माओवादी केन्द्रकै मार्गचित्रमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।