
पर्वत असाेज २७
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले देश अहिले संवेदनशील परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै देशी तथा विदेशी शक्तिहरूले विभिन्न बहानामा मुलुकलाई अस्थिर बनाउने र कब्जा गर्ने मनसायले लागिपरेकोले आम नागरिकलाई सचेत रहन आग्रह गरेका छन्।

सोमबार पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० स्थित वडा कार्यालय तथा पिपलटारी स्वास्थ्य चौकीको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाठकले संविधान जारी भई व्यवस्था स्थापित भइसकेपछि विकास र समृद्धिको खाका कोरिँदै गर्दा मुलुकलाई पुनः अस्थिरतातर्फ लैजाने प्रयास भइरहेको बताए।
उनले गत भदौ २३ गते जेन्जी समूहले भ्रष्टाचारविरुद्ध र सुशासनको मागसहित गरेको आन्दोलन समय र परिस्थिति अनुसार जायज भए पनि त्यसमा विभिन्न स्वार्थ समूहले घुसपैठ गरी कलिला विद्यार्थीको हत्या, सरकारी संरचनामा तोडफोड तथा आगजनीजस्ता गतिविधि गरिएकाले त्यसलाई अत्यन्तै खतरनाक अवस्था भन्दै सबै राजनीतिक दल, नागरिक तथा सरोकारवालालाई सचेत रहन आग्रह गरे।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा लगायतका दलका प्रमुख तथा प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो। सहभागी सबै दलका प्रतिनिधिहरूले वडाको विकासका लागि सहकार्य गर्दै देशको जटिल परिस्थितिमा सही दिशानिर्देश दिन एकजुट भएर अघि बढ्ने साझा धारणा व्यक्त गरे।
कार्यक्रमको अवसरमा मन्त्री पाठकले वडाको समग्र विकास निर्माण, विद्यमान समस्या, चुनौती तथा समाधानका उपायबारे सर्वपक्षीय छलफल गरे। साथै, पिपलटारी स्वास्थ्य चौकीको अनुगमन तथा निरीक्षण गर्दै औषधि, उपकरण, जनशक्ति र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिँदै आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण पनि गरे।
कार्यक्रम वडा अध्यक्ष रामचन्द्र सुबेदीको अध्यक्षता, पिपलटारी स्वास्थ्य चौकी इन्चार्ज रामबहादुर खड्काको सञ्चालन तथा वडा सचिव नारायण लामिछानेको स्वागतमा सम्पन्न भएको थियो।












