
काठमाडौं — पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ। नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आगलागी हुनु दुई दिनअघि नै दुई वटा ट्रकमार्फत दुई करोड रुपैयाँ लुकाइएको भन्ने भ्रामक र तथ्यहीन प्रचार सामाजिक सञ्जालमार्फत गरिएको आरोपमा उजुरी दर्ता गरिएको हो।
सुवेदीले सामाजिक सञ्जालमार्फत संयोजक दाहालको निवाससँग जोडेर झुठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गर्नुका साथै चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ। पार्टी नेतृत्वविरुद्ध गरिएको यस्तो प्रचारप्रसार गम्भीर साइबर अपराधमा पर्ने भएकाले आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ।
संयोजकको सचिवालयको तर्फबाट हिजो साइबर ब्यूरोमा दर्ता गरिएको उजुरीमा डिजिटल माध्यम प्रयोग गरी गरिएको प्रचार साइबर कानुनविपरीत रहेको जनाइएको छ।












