
काठमाडौं, असोज २६ — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका परिवारका सदस्यहरूलाई लक्षित गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा प्रसारित समाचारहरूप्रति माओवादी केन्द्रले गम्भीर आपत्ति जनाएको छ।
प्रचण्डको सचिवालयबाट जारी विज्ञप्तिमा संकटको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढंगले तथ्यहीन र चरित्रहत्या गर्ने सामग्री प्रवाह गरिएको भन्दै खेद प्रकट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “यस्ता सामग्रीहरू संविधान, पत्रकार आचारसंहिता तथा अभिव्यक्ति स्वतन्त्रताको कानुनी सीमाभन्दा बाहिर छन्।”
सत्यता प्रमाणित गर्न चुनौती
सचिवालयले प्रचण्डको निवासबाट जेन जेड आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको, र गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको भन्ने दाबीहरूलाई निराधार भन्दै ती आरोपहरूको प्रमाण माग गरेको छ।
साइबर कानुन उल्लंघनको आरोप
डिजिटल माध्यममार्फत गरिएको प्रचारप्रसार साइबर कानुनविपरीत भएको भन्दै सचिवालयले सम्बन्धित निकायहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि अनुरोध गरेको छ। साथै, भविष्यमा यस्ता तथ्यहीन सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्षमाथि नै रहने चेतावनी दिइएको छ।
जनसमुदायलाई अपिल
विज्ञप्तिमा आम जनसमुदायलाई यस्ता भ्रामक प्रचारको भ्रममा नपर्न आग्रह गर्दै संयमित र जिम्मेवार सञ्चारको पक्षमा उभिन संयाेजक गाेविन्द आचार्यले प्रचण्डको सचिवालयकाे तर्फबाट सअपिल गरिएको छ।












