
बागलुङ ताराखोलामा असोज १७ गते साँझ करिब ५ बजेको समयमा ग१ज ६१०० नं. को पिकअप जीप दुर्घटनाग्रस्त भएको छ। ताराखोलाबाट हटिया तर्फ जाँदै गरेको उक्त सवारी चालकले अचानक नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटना भएको खबर मिल्दैझैं इ.प्र.का. ताराखोलाबाट प्रहरी निरीक्षक प्रमोद कुमार नेपालीको कमाण्डमा दुई जना र इ.प्र.का. गलकोटबाट प्रहरी निरीक्षक देवराज काप्लेको नेतृत्वमा पाँच सदस्यीय टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।
घटना स्थलमा सवारी साधन भने त्यही रहेको र चालक प्रहरीले नियन्त्रणमा राखेको जानकारी आएको छ। बाटोमा कुनै अवरोध नभएको बताइएको छ।
दुर्घटनामा सवार आठ मध्ये तीन जना स्थानीय घाइते भएका थिए। उनीहरुलाई नगर अस्पताल गलकोटमा उपचारको लागि पठाइएको छ। घाइतेको विवरण यसप्रकार छ:
- दिनेश थापा, २४ वर्ष, गलकोट नगरपालिका-३, टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट।
- विरबल परियार, ४३ वर्ष, टाउकोमा मध्यम चोट।
- मिलन परियार, २४ वर्ष, दाहिने हात र बाँया खुट्टामा सामान्य चोट।दुर्घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।









