नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट विजया दशमीको शुभकामना

-


     हिडन खबर    
     असाेज १३ गते २०८२ मा प्रकाशित


नेपाल — हिन्दू धर्मावलम्बीहरूको महान चाड, विजया दशमी २०८२ को पावन अवसरमा, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

प्रचण्डले वर्तमान जटिल राजनीतिक परिस्थितिमा नेपाली जनताका महान संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका विषयहरूलाई गम्भीर आत्मसमीक्षा र जिम्मेवार ढंगले सम्बोधन गर्न आवश्यक रहेको बताउनुभएको छ। संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका मुद्दाहरू पुनः उठिरहेका छन्।

पार्टीले जेन जिका मागहरूलाई समर्थन गर्दै, पछिल्लो राजनीतिक अवस्थाबाट उत्पन्न मनोविज्ञानलाई आत्मसात् गरी संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रियामा जुटेको र आगामी मंसिरमा विशेष महाधिवेशनमार्फत युवाहरू सहित जेन–जीको प्रतिनिधित्व सुनिश्चित गर्ने योजना बनाइरहेको पनि प्रचण्डले जानकारी दिनुभएको छ।

विजया दशमीले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन र शोकलाई शक्तिमा बदल्ने प्रेरणा प्रदान गर्ने विश्वास गर्दै दशैंलगायतका पर्वहरू सामाजिक एकता र अग्रगमनका पक्षमा मनाउन आह्वान गरिएको छ।