
न्यायको गजुर झुक्दा
अलिकति आगो,
अलिकति मौनता,
र धेरै–धेरै घाइते अनुहारहरू
देख्छु म यो बेला।
नेपाल आमा ICU मा हुँदा
कसैको अनुहार ढाकिएको देखिन्छ
देशभक्तिको मुखुण्डोले।
छातीमा चोट थपिएको छ—
कहिँ धर्मको नाममा,
कहिँ जातको नाममा,
स्वार्थ बोकेर,
कहिँ क्रान्तिको नाममा,
र कहिँ मौन बस्नुको नाममा।
सिंहदरबार जलिरहँदा
धुवाँसँगै संविधानका धाराहरू उडेको देख्दा,
खरानीको थुप्रोमा बसेर म
सोचिरहेकी छु—
कुन निधारमा टीका लगाउने ?
जब टाउको नै छैन,
म कसरी मनाउँ दशै ?
बिरक्तिएकी छु म आज,
दशैंको टीका जस्तै रातो रङले
लतपतिएका सडकहरू हेर्दा।
त्यही रातो रङ थियो
मेरा छोरा–छोरीको रगत,
जो परिवर्तनको गीत गाउँदा
छिनभरमै अस्ताए।
यो बेला
म कसरी मनाउँ दशै ?
नयाँ लुगाको के कुरा अब ?
मेरो बर्दी नै जलेपछि—
हिजोको आन्दोलनमा,
जब सुरक्षा दिने म नै
गुहार्दै थिएँ मेरै सुरक्षाका लागि।
तर सुरक्षाको नाममा
मेरै साथी मारिँदा
म कसरी मनाउँ दशै ?
पोलिएको बर्दी
झुन्डिएको छ
शहरको आकाशमा—
शोकको बत्तीझैँ।
फुटेका घरका झ्यालबाट
जलेको सपना चिहाउँदै
म कसरी मनाउँ दशै ?
सडकको बीचमा उभिएको बन्दुक,
गोलीको पोका र राउन्डको वजन,
बर्दीले बोकेको सबै तौल।
त्यो तौलमा
मेरो घरभित्रको पेट,
म जस्तै धेरै
परिवारको निन्द्रा लुकेको पाउँछु।
न्याय माग्ने आवाज दबाउने मन
म त होइन।
कहिले अनुशासनको नाममा,
कहिले कानुनी आदेशको नाममा—
देख्छु, गहिरो रातमा
आफ्नै प्रतिबिम्ब,
बर्दीभित्रको बाध्यता।
टीकाको थालिमा
काँचका टुक्रा देखिँदा
म कसरी मनाउँ दशै ?
मेरो घर
खरानी भएको छ।
तर त्यो घर मात्र होइन—
विश्वासको घर,
न्यायको घर,
सपना बस्ने घर—
सबै जलेका छन्।
न्याय दिने सर्वोच्च अदालत जल्दा
मेरो भरोसा मैनबत्तीझैँ जलेको छ।
अब म कसरी न्याय दिलाउँ ?
कसरी आफैँले न्याय मागूँ ?
किनकि यो बेला म आफैँ
अन्यायमा फसेकी छु।
न्यायको तराजु खोज्दै हिँड्ने बेला
म कसरी मनाउँ दशै ?
न म नयाँ लुगा किन्छु,
न निधार रंगाउँछु।
न आशीर्वाद माग्छु,
न छोप्छु निधार टीकाले।
म शिरमा राख्छु—
देशको पीडा,
शोकको खरानी,
र परिवर्तनको संकल्प।
किनकि
नेपाल आमा ICU मा हुँदा
यो बेला
टीकाको थाली होइन,
संवेदनाको जलपात्र
उठाउनु छ मलाई।












