माओवादीले केन्द्रीय कमिटी विघटन गर्दै प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने

-


     हिडन खबर    
     असाेज ८ गते २०८२ मा प्रकाशित


काठमाडौं — नेकपा (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र एकता कायम गर्न तथा वर्तमान राजनीतिक परिस्थितिको आवश्यकताअनुसार केन्द्रीय कमिटी भंग गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरिनेछ। बैठकले विशेष महाधिवेशनको मिति तोक्ने प्रस्ताव पनि केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ।

सापकोटाले विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा प्रचण्ड रहने निश्चित भएको बताए। यदि कसैको फरक मत भएमा त्यसलाई केन्द्रीय कमिटीमा छलफल गर्न सकिने उनले स्पष्ट गरे।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन् भने प्रदेशअनुसार प्रतिनिधिहरूको विभाजन गरी पूर्ण बैठकमा रिपोर्टिङ गरिनेछ।

त्यस्तै, तोकिएको मितिमा नै निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट यथासम्भव भूमिका निर्वाह गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले जेनजीलगायत परिवर्तनकारी शक्तिहरूसँग वार्ता तथा संवाद गरेर समझदारी कायम गर्ने, समाजवादी मोर्चा र राजनीतिक कार्यदिशा तथा विचार मिल्ने पक्षहरूसँग कार्यगत एकता स्थापित गर्न प्रभावकारी पहल गर्ने निर्णय गरेको सापकोटाले जानकारी दिए।