
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै बागलुङ नगरपालिकामा चुनावी चहलपहल शुरू भएको छ । यसपटकको निर्वाचनमा पाँच दलिय गठबन्धन र एमाले राप्रपा गठबन्धन बिच चुनावी प्रतिस्पर्धा चल्ने चर्चा बिच बागलुङ नगरपालिकाका आम मतदाताको के कस्तो बिचार अभिब्यक्त गर्नुभयो त्यसलाई हामीले हिडन जन आवाज मार्फत प्रस्तुत गरेका छौ ।
बलराम चापागाईं बागलुङ नगरपालिका १२

यसपटकको स्थानीय तहमा उठेका जनप्रतिनिधि मध्य नगरको समुच्च विकास गर्ने, जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाउने ब्यक्ति लाई मतदान गर्ने सोच बनाएको छु । हिजोको दिनमा नगरपालिकामा गएका जनप्रतिनिधिले जनताको भावना अनुसार काम गर्न नसकेको हुदा अब धेरै बिचार गरेर जाने बिचार गरेको छु ।
अनिश खाती संचारकर्मी

अब निर्वाचित हुने जनप्रतिनिधिले जनतालाई नठगुन ,जनता संग गरेका बाचा कसम ब्यवहारिक रूपमै पूरा गरून् ।अहिलेसम्म बागलुङ नगरपालिका भित्र नगरवासीले खासै खुशीको अनुभुती गर्न नपाएको हुदा अब भने नयाँ जनप्रतिनिधिले नगरवासीको इच्छा माथि कुठाराघात नगरून भन्न चाहन्छु । बजारमा ब्यापार ब्यबसाय गर्ने माथि हिजोको दिनमा लगाइएको जथाभावी कर समायोजन गर्ने समेत माग गर्दछु । साथै स्वास्थ र शिक्षामा नगरवासीले अनुभुती गर्ने खालको कार्यक्रम ल्याउन समेत अनुरोध गर्न चाहन्छु ।
दीपक शर्मा स्थानीय बागलुङ नगरपालिका ३

बागलुङ नगरपालिकामा अब निर्वाचित भएर आउने जनप्रतिनिधिले जे कुरा पुर्याउन सक्छ त्यो कुरामात्र गरोस नचाहिने ठूला सपना जनतालाई नदेखाए पुग्छ ।अहिलेसम्म बागलुङ नगरपालिका भित्र नगरपालिकाको कार्यालय नै ब्यबस्थापन नभएको कारणले हुदा त्यसलाई ब्यवस्थापन गर्ने आम नागरिकले अनुभुती हुने गरि सेवा पाउने प्रवन्ध मिलाउने काम गर्न तर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।
सुरेन्द्र बहादुर घर्ती बागलुङ नगरपालिका ८

बागलुङ नगरपालिका वडा नम्बर ८ मा समग्र रूपमा भन्नुपर्दा केही विकास निर्माणका काम भएको महसुस गरेको छु । जति विकास गर्नुपर्ने हो त्यो भने भएको छैन ,अहिले मुख्य गरेर सिगाना सम्म पुग्ने सडक कालोपत्रे गर्ने योजना अब आउने जनप्रतिनिधिले गरेर जनतालाई विकासको अनुभुती दिलाउनु पर्छ भन्ने लाग्छ ।सिगानालाइ कृषिमा आत्मनिर्भर हुने योजना बनाउन सकेको खण्डमा अझ राम्रो हुने देखिन्छ ।
कमल किसान बागलुङ नगरपालिका ३

बागलुङ नगरपालिकामा जनप्रतिनिधिले कृषि क्षेकोको अधुनिकिकरण र किसानलाई ध्यान दिनुपर्ने हो त्यो दिएको देखिएको छैन । अब आउने जनप्रतिनिधिले त्यो कुराको महसुश हुने वातावरण बनाउन जरुरी देख्छु । शिक्षा र स्वास्थ्यमा समेत बिशेश ध्यान दिन जरुरी छ । वडा भित्रका स्वास्थ्य सस्थामा सामान्य उपचार पनि जनताले पाउन सकेका छैनन् यस्तो जल्दाबल्दा कुरामा ध्यान जान सके मात्र फरक महसुस हुनेछ ।












