
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर महिनामै विशेष महाधिवेशन आयोजना गरी पार्टीको नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव गरेका छन्। उनले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै संगठनात्मक संरचना भंग गरी नयाँ संरचना निर्माण गर्नुपर्ने धारणा राखेका हुन्।
दाहालले बैठकमा भने, “केन्द्रीय कमिटी पनि भंग गरेर महाधिवेशन आयोजक समिति बनाऔं। त्यसैगरी प्रदेश, जिल्ला र स्थानीय कमिटीहरू पनि सबै भंग गरी नयाँ सांगठनिक संरचनामा अघि बढाऔं।”
उनको प्रस्ताव अनुसार, विशेष महाधिवेशनमार्फत खुला र लोकतान्त्रिक प्रक्रियाबाट पार्टीको नेतृत्व चयन गरिनेछ। साथै, उनले घोषित निर्वाचनमा सहभागी हुनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै निर्वाचनको तयारीमा जुट्नुपर्ने सुझाव पनि दिएका छन्।
दाहालको भनाइमा अब पार्टीले निर्वाचनमार्फत नै अगाडि बढ्नु उपयुक्त हुने देखिएको छ।











