राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकता आवश्यक: अध्यक्ष प्रचण्ड

-


     हिडन खबर    
     असाेज ४ गते २०८२ मा प्रकाशित


काठमाडौं, भदौ ३ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर संकटको अवस्थामा रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ।

संविधान दिवसको अवसरमा जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणमा जनयुद्धको योगदानलाई स्मरण गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी र समानुपातिक प्रतिनिधित्वजस्ता विषय संविधानमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो।

जेन्जी आन्दोलनको सन्दर्भमा सरकारको बल प्रयोगप्रति आपत्ति जनाउँदै, माओवादी केन्द्रले संयमता अपनाउन आग्रह गरेको स्मरण गराउनुभयो। उहाँले आन्दोलनका मागहरू सम्बोधन गर्दै संविधानको रक्षामा माओवादी केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

“हामीले जेन जीहरूको बलिदानको सम्मान गर्दै संविधानको रक्षा र राष्ट्रपतिको गरिमा कायम राख्ने राजनीतिक विकल्प प्रस्तुत गरेका हौं,” अध्यक्ष प्रचण्डले भन्नुभयो। साथै, अन्तरिम सरकार गठन र निर्वाचनको तोकिएको मिति अनुसार अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

बैठकमा माओवादी केन्द्रका नेताहरू तथा जनप्रगतिशील मञ्चका प्रतिनिधिहरूको उपस्थिति थियो। बैठकको अध्यक्षता सनि कुमार ओलीले गर्नुभएको थियो भने सञ्चालन भवानी पन्तले गर्नुभएको थियो।