संविधान दिवसको अवसरमा माओवादी केन्द्र अध्यक्ष प्रचण्डको सम्बाेधन

-


     हिडन खबर    
     असाेज ३ गते २०८२ मा प्रकाशित


११औँ संविधान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै महान जनयुद्ध, जनआन्दोलन र हालैको ‘जेनजी विद्रोह’ का शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, बेपत्ता, घाइते, अपाङ्ग तथा पीडित परिवारप्रति सम्मान व्यक्त गरे।

अध्यक्ष प्रचण्डले संविधान निर्माणको इतिहास, त्यसमा जनयुद्धको निर्णायक भूमिका, १२ बुँदे समझदारीदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रालाई स्मरण गरे। जनयुद्ध नहुँदो हो त संविधान सम्भव नहुने ठोकुवा गर्दै उनले त्यसको ऐतिहासिकता स्वीकार नगर्ने प्रवृत्तिको आलोचना गरे।

उनले हालको जेनजी आन्दोलनलाई पनि जनयुद्धकै निरन्तरता मानेका छन्। आन्दोलनका मागहरू जायज रहेको भन्दै त्यसमा भएको हिंसात्मक घटनाको लागि गम्भीर छानबिन र विश्लेषण आवश्यक भएको धारणा व्यक्त गरे। आन्दोलनका क्रममा सरकारको दमनलाई उनले “नरसंहार”को संज्ञा दिए।

अध्यक्ष प्रचण्डले संविधानमा समयमै संशोधन आवश्यक रहेको बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र उत्पीडित वर्गहरूको पहिचानसहितको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

आफ्नो पार्टी माओवादी केन्द्रले आत्मसमीक्षा गर्दै पार्टी पुनर्संरचना र समाजवादी आन्दोलनका लागि नयाँ अभियान सुरु गरेको जानकारी दिए। जेनजी आन्दोलनका सन्दर्भमा पार्टीकै पहलमा आन्दोलनको समर्थन र सरकारको विरोध भएको स्मरण गरे।

अन्तमा उनले आगामी घोषित निर्वाचन सम्पन्न गरेर राजनीतिक स्थायित्व र विकासको बाटो खोल्नुपर्नेमा जोड दिए। संविधानको रक्षा र पुनर्निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने सन्देश दिएका थिए।