एमाले बागलुङ कार्यालय पुनः सञ्चालन

-


     हिडन खबर    
     असाेज २ गते २०८२ मा प्रकाशित


बागलुङ — जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको तोडफोडपछि बन्द अवस्थामा रहेको नेकपा एमाले बागलुङ जिल्ला कार्यालय पुनः सञ्चालनमा ल्याउने उद्देश्यले एक औपचारिक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यालय परिसरमा पुनः पार्टीको झण्डा र बोर्ड स्थापना गरिनुका साथै आन्तरिक व्यवस्थापनको कार्य प्रारम्भ गरिएको छ।

कार्यक्रममा नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष श्री हिराबहादुर केसी तथा पार्टीका केन्द्रीय सदस्य श्री इन्द्रलाल सापकोटाले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। उहाँहरूले आन्दोलनका क्रममा भएको क्षतिपूर्ति, संगठनको पुनर्संरचना तथा जनस्तरमा पार्टीको सक्रियता पुनः स्थापित गर्ने विषयमा जोड दिनुभएको थियो।

जिल्ला अध्यक्ष केसीले पार्टी कार्यालयमाथि भएको आक्रमणलाई लोकतान्त्रिक मूल्य र मान्यताविरुद्धको कार्यको संज्ञा दिँदै त्यसप्रति गम्भीर आपत्ति जनाउनुभयो। उहाँले पार्टी कार्यकर्ताहरूलाई संयमित रहन र संगठन सुदृढीकरणमा जुट्न आग्रह गर्नुभयो।

त्यसैगरी, केन्द्रीय सदस्य सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै पार्टीले जनताको पक्षमा स्पष्ट र सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संविधान र लोकतान्त्रिक प्रणालीको संरक्षणमा एमालेको ऐतिहासिक योगदान स्मरण गराउँदै आगामी दिनमा जनअपेक्षाअनुसार कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा पार्टीका अन्य जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।