
काठमाडौं असाेज २
नेपाल कम्युनिस्ट पार्टी माआेवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको दस वर्ष पूरा गरेको ऐतिहासिक अवसरमा, हामी हजारौं शहिद र लाखौं नागरिकको त्यागलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौं। यो संविधान जनयुद्ध र शान्तिपूर्ण आन्दोलनको फ्युजनबाट जन्मिएको जनताको दस्तावेज भएको बताए ।
हालैको जेन–जी आन्दोलनले संविधानको पुनरावलोकन र परिमार्जनको माग गरिरहेको छ। २३ र २४ गतेको घटनाले देशलाई गहिरो संकटमा पुर्याएको छ—७० भन्दा बढी युवाको हत्या, सार्वजनिक संरचनामा विध्वंस। हामी पुनर्निर्माणको अभियानमा जुट्न सम्पूर्ण जनसमुदायलाई आह्वान गर्दछौं। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग अध्यक्ष दाहालले माग गरेका छन् ।
जेन–जी आन्दोलन लोकतन्त्रविरोधी होइन, यथास्थिति र तदर्थ शासनको विरोधी हो। प्रत्यक्ष निर्वाचित कार्यकारीको माग, समानुपातिक निर्वाचन प्रणालीको पक्षधरता—यी मागहरू दशकअघिको हाम्रो फरक मतसँग मेल खान्छन्। यदि ती मतहरू समयमै स्वीकार गरिएका भए, आजको विद्रोह र रक्तपात टार्न सकिन्थ्यो अध्यक्ष दाहालले भनेका छन् ।
हामीले विगतमा पनि जनताको आक्रोशलाई सम्बोधन गर्न चेतावनी दिएका थियौं। कुशासन, भ्रष्टाचार, दमनविरुद्ध सडकदेखि सदनसम्म लडेका छौं। जेन–जी आन्दोलनका मागमा पहिलो समर्थन दिने राजनीतिक दल हामी नै थियौं।
संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी प्रणालीमा जान सकिने अवसर गुमेको छ। आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचन घोषणामा सीमित भयो। तर, देशले अझ उन्नत लोकतन्त्रको खोजी गरिरहेको छ। संविधान र लोकतन्त्रको रक्षामार्फत् राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु आजको साझा कर्तव्य हो।
संविधान दिवसको अवसरमा, विगतका कमजोरी स्वीकार गर्दै, हामी आत्मसुधारको प्रक्रियामा छौं। जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै लोकतन्त्रको झण्डा रक्षा गर्ने संकल्प गर्दछौं।









