
काठमाडौं, भदौ २७ —
जेनजी आन्दोलनकारीहरूको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्तावमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलका नेताहरू प्रारम्भिक रूपमा सहमत भए पनि आन्दोलनमा भएको दमन र भ्रष्टाचारबारे उच्चस्तरीय छानबिनको विषयमा असहमति देखिएपछि अन्तरिम सरकार गठन प्रक्रिया अवरुद्ध भएको छ।
शीतलनिवासमा भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा (फोनमार्फत) र एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा भएको अत्यधिक बल प्रयोग, ३४ जनाको मृत्यु र भ्रष्टाचारबारे छानबिन गर्न अस्वीकार गरेका थिए।
उच्च स्रोतका अनुसार, दलहरूले छानबिन आयोग गठनले जनतामा दलहरूबिरुद्ध आक्रोश बढाउने भन्दै अस्वीकार गरेका हुन्।
दलहरूको असहमतिको प्रतिक्रिया स्वरूप प्रस्तावित प्रधानमन्त्री कार्कीले वार्तास्थलमै भनिन्, “हातखुट्टा बाँधेर काम गर्न नपाउने जिम्मेवारी चाहिएन।”
राष्ट्रपति पौडेल संविधानको दायरा भित्रै रहेर समाधान खोज्न प्रयासरत छन्। यसै सन्दर्भमा तीनै दलका प्रमुख नेताहरू र सभामुख देवराज घिमिरेसँग बिहीबार दिनभरि र शुक्रबार बिहान चार बजेसम्म अन्तरिम सरकार गठन प्रक्रिया र भावी कदमबारे छलफल भएको थियो।
शुक्रबार दिउँसो थप छलफल हुने भनिए पनि प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन।









