
बागलुङ, नेपाल — जिल्ला प्रशासन कार्यालय बागलुङले मुख्य चार बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
जेनजी समूहको आन्दोलन तथा उत्पन्न सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बागलुङ बजार, गलकोट बजार, ढोरपाटन बजार र कुश्मिसेरा बजारमा निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरूङले जानकारी दिनुभयो।
बागलुङ नगरपालिकाका वडा नं. १, २, ३ र ४, गलकोट नगरपालिकाका वडा नं. ३, ५ र ६, जैमिनी नगरपालिकाको वडा नं. १ (कुश्मिसेरा), तथा ढोरपाटन नगरपालिकाका वडा नं. १, २ र ३ (बुर्तिवाङ बजार) मा आज बिहान ९ बजेदेखि निषेधाज्ञा लागू गरिएको हो।
निषेधाज्ञा जारी गरिए पनि बागलुङको जनजीवन सामान्य बन्दै गएको छ। पार्टी कार्यालयमा तोडफोड भए पनि अन्य भौतिक संरचनाहरू सुरक्षित रहेको र बागलुङ कारागारसमेत सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी गुरूङले जानकारी दिनुभयो।









