नरैनापुर गाउँपालिकामा शोक बिदा

-


     हिडन खबर    
     भाद्र २४ गते २०८२ मा प्रकाशित


बाँके, २४ भाद्र — बाँकेको नरैनापुर गाउँपालिकाले आज मंगलबार शोक बिदा घोषणा गरेको छ। काठमाडौंसहित देशका विभिन्न स्थानमा जारी जेन–जी आन्दोलनका क्रममा भएको घटनामा नागरिकको मृत्यु र घाइते भएको दुःखद घटनाले गाउँपालिका स्तब्ध बनेको जनाउँदै शोक बिदा दिइएको हो।

गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहद्वारा जारी विज्ञप्तिमा २४ भाद्रमा गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरू, सामुदायिक, संस्थागत तथा परम्परागत विद्यालयहरू लगायत सम्पूर्ण संस्थाहरू बन्द रहने उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “२३ भाद्रमा जेन–जीले आयोजना गरेको प्रदर्शनमा १९ जनाले शहादत प्राप्त गर्नुभएको छ। ती साहसी योद्धाहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। साथै घाइते युवा विद्यार्थीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सोमबारको घटना अत्यन्त पीडादायक र दुःखद छ। बालबालिकाको संवैधानिक अधिकारमाथि दमन गर्ने सरकारको रवैया गम्भीर चिन्ताको विषय हो।”

गाउँपालिकाले देशभर उठान भइरहेका जेन–जी आन्दोलनका मागहरू न्यायोचित भएको उल्लेख गर्दै ती मागहरूलाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। सूचनामा भनिएको छ, “यस घटनामा सरकार जिम्मेवार हुनुपर्छ। आजको आवश्यकता शक्ति प्रदर्शन होइन, संवेदनशीलता हो। सरकार अहंकारमा होइन, यथार्थमा आधारित निर्णय लिन अघि बढोस् भन्ने दृढ अपेक्षा राख्दछु।”

भ्रष्टाचारविरुद्ध तथा सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा युवाहरूले आयोजना गरेका प्रदर्शनमा सुरक्षा निकायले अनावश्यक तथा अत्यधिक बल प्रयोग गरेको आरोप लागेको छ। मृत्यु हुने १९ जनामध्ये दुई जना नेपालगञ्ज निवासी रहेको जानकारी प्राप्त भएको छ।