हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि हो : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

-


     हिडन खबर    
     भाद्र २० गते २०८२ मा प्रकाशित


काठमाडौं भदौ २०

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रका लागि केवल पेशा मात्र नभई एक मानवीय सेवा पनि भएको बताउनुभएको छ।

काठमाडौँमा सुरु भएको ‘एसिया प्यासिफिक केयर लर्निङ’ सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै मन्त्री राणाले भन्नुभयो, “बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी सम्पूर्ण कार्यहरूलाई केवल पेशा वा जागिरको रूपमा मात्र हेर्नु हुँदैन, यो त एक मानवीय सेवा हो।”

उहाँले हेरचाह कार्यको अपरिहार्य भूमिकाका बाबजुद पनि घर, समुदाय तथा राष्ट्रिय स्तरमा यसको मूल्याङ्कन न्यून भएको र अर्थतन्त्रमा यसको योगदानबारे पर्याप्त खोज अनुसन्धान नभएको उल्लेख गर्नुभयो।

नेपालमा हेरचाह क्षेत्रको योगदान लगभग कृषिकै बराबरीको रहेको र प्रायः महिलाले नै यसको असमान भार वहन गरिरहेको बताउँदै मन्त्री राणाले यसले अर्थतन्त्र, राजनीति तथा सार्वजनिक जीवनमा महिलाको सहभागितालाई अवरुद्ध गरिरहेको धारणा व्यक्त गर्नुभयो।

नेपालले हेरचाह क्षेत्रको महत्त्वलाई पहिचान गरिसकेको र १६औँ आवधिक योजनाले पहिलोपटक यसलाई विकास दृष्टिकोणको केन्द्रमा राखेको जानकारी उहाँले दिनुभयो।

उहाँले हेरचाहमा गरिने लगानीलाई खर्चको रूपमा नभई उच्च प्रतिफल दिने लगानीको रूपमा हेर्नुपर्ने आवश्यकता औंल्याउँदै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा हेरचाहको अभाव पूर्ति गर्न सके लाखौँ नयाँ रोजगारी सिर्जना हुने र तीमध्ये कम्तीमा ६० प्रतिशत महिलाको पक्षमा रहने अध्ययनहरूले देखाएको स्पष्ट गर्नुभयो।

सीमित पूर्वाधार, दक्ष जनशक्तिको अभाव तथा जनचेतनाको कमी यस क्षेत्रका प्रमुख चुनौती भएको उल्लेख गर्दै उहाँले सम्मानजनक रोजगारीको सिर्जना, सामाजिक सुरक्षाको विस्तार तथा हेरचाहकर्मीलाई उचित पारिश्रमिकको व्यवस्था गरेर ती चुनौतीहरू समाधान गर्न सकिने बताउनुभयो।

दशकौँदेखि सुदूरपश्चिम तथा अन्य क्षेत्रहरूमा सुरक्षित मातृत्व तथा लैंगिक समानताको क्षेत्रमा आफूहरूले गरेका कार्यहरूको स्मरण गर्दै मन्त्री राणाले यस्ता सहयोग तथा अभियानहरूको गणना कमै हुने गरे पनि ती कार्यक्रमहरूले नेपालमा मातृ तथा शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्नुभयो।

हेरचाह कार्यमार्फत महिला तथा शिशु स्वास्थ्यमा सुधार आएको र यसले देशको स्वास्थ्य सूचकहरूलाई बलियो बनाउँदै लगेको धारणा पनि उहाँले व्यक्त गर्नुभयो।