
काठमाडौं भदौ १९
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई आज एक विशेष समारोहका बीच दज्र्यानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई औपचारिक रूपमा फूली लगाएर सम्मानित गरे।

यसअघि भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको नेतृत्व सुम्पने निर्णय गरेको थियो। समारोहमा बोल्दै आईजीपी खापुङले सरकारको विश्वासलाई निष्ठा, अनुशासन र सेवाभावका साथ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले प्रहरी संगठनका तर्फबाट विभिन्न घटनाक्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते प्रहरी सदस्यहरूको सहज जीवनयापनको कामना पनि गरे। साथै, आफ्नो कार्यकालमा नागरिकमा राज्यप्रति विश्वास र भरोसा अभिवृद्धि गर्न निरन्तर प्रयास गर्ने प्रतिज्ञा व्यक्त गरे।

“नेपाल सरकार गृह मन्त्रालयले मलाई सुम्पिएको यो जिम्मेवारीलाई म निष्ठापूर्वक, अनुशासित र सेवाभावका साथ प्रभावकारी रूपमा निर्वाह गर्नेछु,” उनले भने।
हाल प्रचलित प्रहरी ऐन तथा नियमावलीअनुसार आईजीपी खापुङको कार्यकाल छोटो हुने देखिएको छ। यदि हाल छलफलमा रहेको नयाँ प्रहरी विधेयक पारित हुन सकेन भने, उनले जम्मा २ महिना ७ दिन मात्र प्रहरी संगठनको नेतृत्व सम्हाल्न पाउनेछन्।
तेह्रथुम जिल्लामा २०२७ साल मंसिर २३ गते जन्मिएका खापुङले २०५२ साल कार्तिक २७ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवा प्रारम्भ गरेका थिए। आफ्नो सेवा अवधिमा उनले मोरङ, धरान, दरबारमार्ग, बागलुङ लगायतका विभिन्न प्रहरी इकाइमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।









