नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो रहेको परराष्ट्रमन्त्रीको भनाइ

-


     हिड्न खबरदाता     
     भाद्र १९ गते २०८२ मा प्रकाशित


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र संयुक्त राज्य अमेरिकाबीच विश्वासमा आधारित, दिगो तथा ऐतिहासिक सम्बन्ध रहिआएको स्पष्ट गर्नुभएको छ।

आज यहाँ आयोजित एक समारोहमा अमेरिकी सरकारले नेपाली सेनालाई उपलब्ध गराएको दुईवटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्दै मन्त्री डा. राणाले उक्त सहयोग नेपाल–अमेरिका मित्रता र सहकार्यको प्रतीक भएको बताउनुभयो।

उहाँले अमेरिकालाई नेपालको प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासका क्षेत्रमा एक भरपर्दो विकास साझेदारको रूपमा वर्णन गर्नुभयो।

नेपाल र अमेरिकाबीचको मित्रता सधैं शान्ति, स्थायित्व र मानव सेवाको उद्देश्यमा केन्द्रित रहेको उल्लेख गर्दै, उहाँले नेपालप्रति निरन्तर सहयोग प्रदान गरिरहेकामा अमेरिकी सरकार तथा जनताप्रति आभार प्रकट गर्नुभयो।

समारोहमा मन्त्री डा. राणाले नेपाली सेनाले निरन्तर समर्पण, अनुशासन, राष्ट्रियता, विश्व शान्ति तथा सुरक्षाप्रति देखाएको अटूट प्रतिबद्धताको प्रशंसा गर्नुभयो।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. राणा, रक्षामन्त्री मानवीर राइ तथा प्रधान सेनापति अशोकराज सिग्देललाई अमेरिकी राजदूत डिन आर. थम्पसनले ती स्काइ ट्रक हस्तान्तरण गर्नुभएको थियो।

उक्त स्काइ ट्रकहरू विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सेवा दिनका साथै एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिने जनाइएको छ।