
प्रवासी नागरिकतालाई सरकारले कागजको खोस्टाजस्तो व्यवहार गर्यो: प्रचण्डको आरोप
काठमाडौं, भदौ १६ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। एशिया प्रदेश संगठन समितिको भर्चुअल विस्तारित बैठकमा सम्बोधन गर्दै उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा लिपुलेक र कालापानीबारे भारतीय प्रधानमन्त्रीसँग संवाद गरी सार्वजनिक घोषणा गराएको स्मरण गर्नुभयो।

उहाँले प्रवासी नेपालीको अधिकार र योगदानको विषयमा पनि सरकारको उदासीनता प्रति आलोचना गर्दै भन्नुभयो, “नागरिकता दिने ऐतिहासिक निर्णय गरियो, तर अहिलेको सरकारले प्रवासी नागरिकतालाई कागजको खोस्टाजस्तो व्यवहार गरिरहेको छ।”
बैठकमा अध्यक्ष प्रचण्डले प्रवासी क्षेत्रका कार्यकर्तालाई पार्टीको मूलधारमा ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो। मध्यपूर्व र एसियामा रहेका जनशक्तिलाई महत्व दिँदै संगठन विस्तारको आवश्यकता औंल्याउनुभयो।
पार्टीभित्रको गुटबन्दी र अराजक व्यवहार सह्य नहुने बताउँदै उहाँले जनवादको अभ्यासमार्फत अनुशासन र केन्द्रीयता कायम गर्नुपर्नेमा जोड दिनुभयो। “पार्टीलाई जनतामैत्री, संगठित र एकीकृत बनाउँदै जनविश्वास पुनः आर्जन गर्न अभियान थालिनेछ,” उहाँले भन्नुभयो।
बैठकमा केन्द्रीय सदस्य डिबी क्षेत्रीले एशिया क्षेत्रमा २८ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको तथ्य प्रस्तुत गर्दै प्रवासी जनशक्तिको भूमिकालाई मूल्याङ्कन गर्नुपर्ने सुझाव दिनुभयो। प्रवास क्षेत्र इन्चार्ज ओम शर्माले संसारभरिका नेपाली युवालाई गोलबन्द गर्न साझा प्लेटफर्मको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो।
बैठक सनीकुमार ओलीको अध्यक्षतामा सचिव भवानी पन्तले सञ्चालन गर्नुभएको थियो।













