सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष प्रचण्डको निर्देशन

-


     हिडन खबर    
     भाद्र १६ गते २०८२ मा प्रकाशित


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकमा सम्बोधन गर्दै संगठन निर्माणमा आत्मसमिक्षा र जनसम्पर्क विस्तारको आवश्यकता औंल्याउनुभएको छ।

उहाँले पार्टीले जनविश्वास पुनः हासिल गरिरहेको भए पनि त्यसलाई सशक्त संगठनमा रूपान्तरण नगरेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा वैचारिक, राजनीतिक र सांगठनिक सुधारको संकेत देखिएको भन्दै उहाँले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो।

प्रचण्डले आत्मसमिक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै विगतका कमजोरीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो। सरकारमा रहँदा प्राप्त उपलब्धि, खबरदारी अभियान र जनसंगठनको सक्रियताले माओवादीप्रति जनभावना सकारात्मक बनेको भन्दै त्यसलाई संस्थागत गर्न संगठन सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो।

पार्टीभित्रको खुला बहसको संस्कार माओवादी केन्द्रको विशेषता भएको उल्लेख गर्दै उहाँले निर्वाचन वा आन्दोलन सार्थक बनाउन संगठन बलियो हुनु आवश्यक रहेको बताउनुभयो।

सुदूरपश्चिमलाई सम्भावनायुक्त प्रदेश मानेर प्रचण्डले त्यहाँका नेता–कार्यकर्तालाई योजनाबद्ध, केन्द्रित र परिचालित गर्नुपर्ने चुनौती रहेको बताए। उपमहासचिव गिरिराजमणि पोख्रेलले सुदूरपश्चिमको विशेष परिस्थिति अनुसार संगठन विस्तार र जनसम्पर्क सुदृढीकरणमा केन्द्रित कार्ययोजना प्रस्तुत गर्नुभयो।

अध्यक्ष प्रचण्डले निष्कर्षमा भन्नुभयो, “सकारात्मक माहोललाई संगठनमा बदलेर मात्र राजनीतिक सफलता सम्भव छ।”