परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बुढानीलकण्ठस्थित निवासमा गौरा भित्र्याउनुभयो

-


     हिड्न खबरदाता     
     भाद्र १४ गते २०८२ मा प्रकाशित


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै निवासमा शनिबार धार्मिक अनुष्ठानसहित गौरा भित्र्याउनुभएको छ। विगत वर्षहरूमा गौरा पूजनका लागि उहाँ धनगढी जाने गर्नुहुन्थ्यो, तर यसपटक धनगढीस्थित निवास पुनर्निर्माणको क्रममा रहेकाले काठमाडौँमै गौरा भित्र्याउनुभएको हो।

हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने परम्परा रहेको छ। विभिन्न वनस्पतिबाट निर्मित गौराको मूर्तिलाई देवी पार्वतीको प्रतीकका रूपमा घर तथा मन्दिरमा धार्मिक विधिअनुसार भित्र्याउने चलन छ।

मन्त्री डा. राणाले गौरा पर्व सुदूरपश्चिमेली समुदायको विशिष्ट सांस्कृतिक गौरव भएको बताउँदै, आफू प्रत्येक वर्ष निष्ठापूर्वक व्रत बसेर गौरा पूजा गर्ने गरेको जानकारी दिनुभयो। उहाँले गौराले सामाजिक एकता, सहिष्णुता र भाइचाराको सम्बन्ध सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो।

गौरा पूजाको आरम्भ भाद्र शुक्ल पञ्चमीका दिन ‘बिरुडा पञ्चमी’बाट सुरु भई अष्टमीसम्म चल्ने गर्दछ। यस अवधिमा महिलाहरू निराहार व्रत बसेर शिव–गौरीको पूजा–अर्चना गर्ने परम्परा छ। गौरा पर्वलाई सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठानको रूपमा लिइन्छ। यो पर्व सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा विशेष रूपमा मनाइन्छ।