
बागलुङ भदौ १३
बागलुङ, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा देशभरका पालिकाहरूमा आयोजित धर्ना तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अन्तर्गत आज बागलुङ नगरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ।

महासंघमा आबद्ध तथा सम्बद्ध संगठनका सबै घटकहरू एकजुट भई बागलुङ नगरपालिकाको कार्यालय परिसरमा धर्ना कार्यक्रम आयोजना गरिएको थियो। शिक्षकहरूका पेशागत अधिकार, सेवा सुविधा, र शिक्षा क्षेत्रको समग्र सुधारका मागहरूलाई सम्बोधन गर्न ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमको क्रममा सहभागी शिक्षक प्रतिनिधिहरूले बागलुङ नगरपालिकाका सामाजिक विकास समितिका संयोजक श्री ज्ञानेन्द्र गौतम, प्रमुख प्रशासनिक अधिकृत श्री ईश्वरि प्रसाद शर्मा, तथा शिक्षा अधिकृत श्री पूर्ण घर्ती मगरलाई औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाएका थिए।

ध्यानाकर्षण पत्रमा शिक्षकहरूको पेशागत सुरक्षाको सुनिश्चितता, शिक्षा नीतिमा सुधार, बजेटको पारदर्शिता, र स्थानीय तहमा शिक्षकहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने लगायतका मागहरू समेटिएको बताइएको छ।
कार्यक्रममा सहभागी शिक्षकहरूले शान्तिपूर्ण तर प्रभावकारी रूपमा आफ्नो आवाज उठाएका थिए। उनीहरूले शिक्षा क्षेत्रको सुदृढीकरणका लागि सरकार तथा सम्बन्धित निकायहरूलाई गम्भीरतापूर्वक ध्यान दिन आग्रह गरेका छन्।












