
बागलुङ, भदौ १२ — बागलुङको जैमिनी नगरपालिका–१० नाम्दुकस्थित बरेङ–बागलुङ सडकखण्डमा बिहीबार साँझ जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
बरेङ गाउँपालिका–०१ बासकोट निवासी २० वर्षीय रबी थापाले चलाएको ग १ ज ७४८० नम्बरको जिप साँझ करिब ७ बजे घुम्ती मोड्ने क्रममा स्टेयरिङ फेल भई सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित सात जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ पठाइएको इलाका प्रहरी कार्यालय बरेङले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक चन्द्र प्रसाद भण्डारीको नेतृत्वमा सात जनाको टोली घटनास्थलमा खटिएको थियो। सवारी साधन घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरण:
- रबी थापा (२०), चालक — शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम
- सुस्मिता परियार (२१), बाँया हातमा चोट, अवस्था सामान्य
- विक्की परियार (१९), बाँया खुट्टामा चोट, अवस्था सामान्य
- सेती परियार (४०), चोट नभएको, अवस्था सामान्य
- ज्योती मगर (५४), भरतपुर म.न.पा.–२६, चितवन — चोट नभएको, अवस्था सामान्य
- सुनिता परियार (४०), बरेङ गा.पा.–०१ — चोट नभएको, अवस्था सामान्य
- मोहन परियार (१८), चोट नभएको, अवस्था सामान्य
प्रहरीका अनुसार दुर्घटनास्थल इलाका प्रहरी कार्यालय बरेङबाट करिब १० किलोमिटर उत्तरतर्फ पर्दछ।









