
ललितपुर, भदौ ९
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण संघ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभएको छ।

खुमलटारस्थित निजी निवासमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तारूढ नेपाली काँग्रेस, नेकपा (एमाले) र समाजवादी पार्टीसहितको गठबन्धनलाई पराजित गर्दै विजयी बनेको नेकपा (माओवादी केन्द्र)समेतको गठबन्धनको अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानललाई बधाई दिनुभयो।
बधाई ज्ञापनको क्रममा अध्यक्ष प्रचण्डले पर्वतीय पर्यटन व्यवसायको विकासमा संघले महत्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,
“नेपालमा पर्वतीय पर्यटन व्यवसायको दिगो विकास आवश्यक छ। हाल निर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरू तथा निर्वाचन प्रक्रियामा संलग्न सबैलाई म हाम्रो पार्टी र मेरो तर्फबाट हार्दिक बधाई दिन चाहन्छु। एनएमएलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन तपाईंहरूको भूमिकामा मेरो पूर्ण समर्थन रहनेछ।”

अध्यक्ष प्रचण्डले आफ्नो व्यक्तिगत अनुभव र एनएमएसँगको लामो सम्बन्ध उल्लेख गर्दै पर्वतारोहण तथा पर्यटन प्रवर्द्धनका लागि सरकारले सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, हाल अन्तिम चरणमा पुगेको पर्यटनसम्बन्धी विधेयक पारित गराउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिज्ञा पनि गर्नुभयो।
एनएमएको हालै सम्पन्न निर्वाचनमा अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानल विजयी भएको थियो। एक उपाध्यक्ष र एक सदस्यबाहेक अन्य सबै पदमा उक्त प्यानलका उम्मेदवार निर्वाचित भएका छन्।










