
बागलुङ भदौ ७
बागलुङ नगरपालिका यस वर्षको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)’ मा ८७.२५ अंक प्राप्त गर्दै बागलुङ जिल्लाभित्र पुनः प्रथम तथा गण्डकी प्रदेशस्तरमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
नेपाल सरकारद्वारा प्रत्येक वर्ष स्थानीय तहहरूको सेवा प्रवाह, विकास निर्माण, योजना कार्यान्वयन, संस्थागत सुशासन, कर्मचारी परिचालन लगायतका विविध पक्षहरूको मूल्याङ्कन गरिन्छ। सोही मूल्याङ्कनका लागि तयार गरिएको LISA मापदण्डअनुसार बागलुङ नगरपालिकाले विगत तीन वर्षमा उल्लेखनीय प्रगति गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।
नगर प्रमुखको नेतृत्वमा प्रारम्भिक मूल्याङ्कनमा प्राप्त ३७.५ अंक क्रमशः वृद्धि हुँदै गएको छ।
- आर्थिक वर्ष २०७८/७९ मा: ७७.५ अंक
- आर्थिक वर्ष २०७९/८० मा: ८३.७५ अंक
- आर्थिक वर्ष २०८०/८१ मा: ८७.२५ अंक
उल्लेखनीय प्रगति हासिल गर्न नगर उप-प्रमुख, नगर कार्यपालिकाका सदस्यहरू, वडा अध्यक्ष तथा सदस्यहरू, सञ्चारकर्मी, सक्रिय राजनीतिक दलहरू, नगरपालिका कर्मचारी परिवार तथा सम्पूर्ण नगरवासीहरूको निरन्तर सहयोग, सद्भाव र सहकार्यले महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख श्रेष्ठले बताए ।
नगरपालिकाले प्राप्त सम्मान सम्पूर्ण नगरवासीहरूलाई समर्पित गर्दै सबैप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।









