
समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज काठमाडौँमा शिष्टाचार भेट गर्नुभएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आउनुभएकी उपराष्ट्रपति सुआनसँग मन्त्री डा. राणाले भेटवार्ता गर्नुभएको हो।
भेटका क्रममा नेपाल–भियतनाम सम्बन्धका विविध आयामहरू, द्विपक्षीय हितका विषयहरू तथा आपसी चासोका मुद्दाहरूमा विचार–विमर्श भएको थियो। मन्त्री डा. राणाले पछिल्लो समय भियतनामले हासिल गरेको तीव्र आर्थिक विकासप्रति बधाई दिँदै उक्त प्रगति अन्य देशहरूका लागि प्रेरणादायी बन्न सक्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले नेपाल र भियतनामबीचको सांस्कृतिक सम्बन्धलाई अझ उजागर गर्नुपर्ने आवश्यकता औंल्याउँदै बौद्ध धर्म दुवै देशका जनताबीच सम्बन्ध विस्तारको सशक्त माध्यम भएको उल्लेख गर्नुभयो। भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा भियतनामी नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको प्रसङ्ग उठाउँदै सांस्कृतिक पर्यटन प्रवर्द्धनमा संयुक्त प्रयास गर्न सकिने सुझाव दिनुभयो।
पछिल्ला वर्षहरूमा नेपाल र भियतनामबीचको पर्यटक आदान–प्रदानमा उल्लेखनीय वृद्धि भएको जानकारी दिँदै मन्त्री डा. राणाले पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले भियतनामबाट नेपालका भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थलमा नियमित उडानको वातावरण निर्माणका लागि आग्रह गर्नुभयो। साथै, नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने तयारीमा रहेको सन्दर्भमा त्यसपछिको सहयोगका लागि भियतनामसँग समर्थनको अनुरोध गर्नुभयो।
भेटका क्रममा मन्त्री डा. राणाले नेपालले सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद् तथा सन् २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्मा सदस्यता प्राप्त गर्न उम्मेदवारी दिएको जानकारी गराउँदै भियतनामको समर्थनको आग्रह गर्नुभयो। उपराष्ट्रपति सुआनले नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल र भियतनामले द्विपक्षीय तथा बहुपक्षीय तहमा परस्पर सहयोग र समर्थन गर्दै आएको उल्लेख गर्दै दक्षिण–दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी मुद्दाहरूमा आगामी दिनहरूमा पनि सहकार्य गर्दै अघि बढ्नुपर्ने विषयमा छलफल भएको थियो।
जी७७ तथा नन–अलाइन्ड मुभमेन्ट (NAM) का सदस्य राष्ट्रका रूपमा नेपाल र भियतनाम विकासशील देशहरूको हित संरक्षणका लागि एकमत भएर कार्य गरिरहेको सन्दर्भमा उपराष्ट्रपति सुआन र मन्त्री डा. राणाले उक्त अवसरमा विचार व्यक्त गर्नुभएको थियो।










