तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

-


     हिडन खबर    
     भाद्र ७ गते २०८२ मा प्रकाशित


काठमाडौं, भदौ ७

उपमा सञ्चार प्रा.लि. र तेज नेपाल मल्टिमिडिया प्रा.लि.को संयुक्त आयोजनामा राजधानीस्थित चलचित्र विकास बोर्डमा “तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२” भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रमको सभाध्यक्ष उपमा सञ्चार प्रा.लि.की आशा गौतम रहनु भएको थियो। प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारी तथा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य मनरुपा शर्मा ‘बिमला’ हुनुहुन्थ्यो।

चलचित्र, संगीत, कला, साहित्य, शिक्षा, खेलकुद, राजनीति, व्यवसाय तथा सामाजिक सेवाजस्ता विविध क्षेत्रमा योगदान पुर्‍याउने नारी व्यक्तित्वहरूलाई “तीज विशेष नारी सम्मान–२०८२” प्रदान गरियो।

कार्यक्रममा तेज नेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठले तीज पर्वलाई नारी सशक्तिकरण र सांस्कृतिक संरक्षणसँग जोड्दै यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै स्वागत मन्तव्य दिनुभयो। कार्यक्रमको सहजीकरण उपमा सञ्चारका सचिव धिरज कोईरालाले गर्नुभएको थियो।

अग्रज गायिका ज्ञानु राणा, विशिष्ट अभिनेत्री मिथिला शर्मा, लक्ष्मी गिरि र रमा थपलियालाई “तीज विशेष नारी दीर्घ सम्मान” प्रदान गरियो। साथै, गायिका पवित्रा रसाइली, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, माया निरासी, पुष्पा पौडेल, सरिता भारती; अभिनेत्री हिउँवाला गौतम, सुनिता गुरुङ, पल्पसा डंगोल; पत्रकार मिना बज्राचार्य, भाषा शर्मा, पुनम पौडेल, प्रतिमा सैजु, गीता अधिकारी, सिर्जना खतिवडा; अभियन्ता जलु गुरुङ; पूर्व प्रहरी निरीक्षक तथा कलाकार भूमिका सुब्बा; पूर्व प्रहरी सई तथा नृत्याङ्गना कल्पना गुरुङ; राष्ट्रिय खेलाडी तथा नेपालकी पहिलो महिला रेस्लर भगवती खडका, रेस्लर मुना श्रेष्ठ; व्यवसायी मञ्जु तिमिल्सिना लगायतलाई पनि सम्मानित गरियो।

त्यस्तै, चलचित्र सेन्सर बोर्डका नवनियुक्त सदस्य सम्पन्न श्रेष्ठ, भीमा मैनाली, कुबेर गिरी तथा चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य बिरेन्द्र प्रसाद भट्ट, सन्तोष लोहनी, गणेश प्रसाद सुवेदीलाई बधाई पत्रद्वारा सम्मान गरियो।

सम्मानपछि विशिष्ट अभिनेत्री मिथिला शर्माले सम्मानले सधैं प्रोत्साहन दिने बताउँदै सम्पूर्ण सम्मानितको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। अग्रज गायिका ज्ञानु राणाले “सिरिमा सिरि नि कान्छी” बोलको गीत प्रस्तुत गर्नुभयो।

प्रमुख अतिथि माननीय बलराम अधिकारीले विभिन्न क्षेत्रका हस्तीहरूलाई सम्मान गर्न पाउँदा गौरव र हर्षको अनुभूति भएको बताउनुभयो। विशिष्ट अतिथि मनरुपा शर्माले नारी सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा गर्व महसुस भएको र आगामी दिनहरूमा यस्ता कार्यक्रम निरन्तर गर्न आयोजक संस्थालाई हौसला प्रदान गर्ने बताउनुभयो।

कार्यक्रममा चलचित्र विकास बोर्ड, गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, एसिया प्यासिफिक कलेज, गणेशमान सिंह बहुमुखी क्याम्पस, एनएस अटोमोबाइल्स, ग्राभिटी होम ट्युसन सोल्युसन, एडिफाई एजुकेसन कन्सल्टेन्सी, मार्गदर्शन स्टडी अब्रोड, सुटमाला, मदरल्यान्ड सेक्युरिटी सर्भिस लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको विशेष उपस्थिति तथा सहयोग रहेको थियो।