जनै हराएको मान्छे’ले दर्शकलाई भावुक बनायो, कलाकार भन्छन्– बुवाको मुख हेर्ने दिनको उपहार यही चलचित्र हो

-


     हिड्न मनाेरन्ज खबरदाता     
     भाद्र ६ गते २०८२ मा प्रकाशित


काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले अधिकांश दर्शकलाई भावुक बनाएको छ। निर्माण पक्षले बुवाको मुख हेर्ने दिनको अवसरमा आफ्ना बुवाआमालाई हलमा लगेर चलचित्र हेर्न आग्रह गरेको छ।

चलचित्रका मुख्य कलाकार विजय बरालले भने, “शनिबार बुवाको मुख हेर्ने चाड हो। हाम्रो चलचित्रले बुवाआमाको खुसीका लागि छोराले गर्ने संघर्षको कथा बोल्छ। यदि कोही छोराछोरीले आफ्ना बुवाआमालाई हलमा लगेर यो चलचित्र देखाउँछन् भने, त्यो नै साँचो उपहार हुनेछ। सायद यसभन्दा ठूलो उपहार अरू केही हुन सक्दैन।”

अभिनेत्री केकी अधिकारीले चलचित्रले छोरीहरूको भावनात्मक संघर्ष र माइतीसँगको सम्बन्ध उजागर गरेको बताइन्। “हाम्रो समाजमा आर्थिक अवस्था कमजोर हुँदा वा सामाजिक परिवेशले माइतीलाई सहयोग गर्न नसक्ने अवस्था आउँछ। चलचित्रमा छोरी कसरी बुवाबाट छुटिन्छिन् र भाइसँगको सम्बन्ध कस्तो रहन्छ भन्ने देखाइएको छ। त्यसैले छोरीहरूले बुवाको मुख हेर्ने दिनमा यो चलचित्र देखाउनुपर्छ,” उनले भनिन्।

अभिनेत्री मिरुना मगरले दर्शकको प्रतिक्रिया साझा गर्दै भनिन्, “हाम्रो समाज अन्तरमुखी छ। धेरै कुरा मनमा राख्छौं तर अभिव्यक्त गर्न सक्दैनौं। दर्शकले यो चलचित्रले आफ्नो मनको कुरा बोलेको भन्दै धन्यवाद दिएका छन्।”

विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, भोलाराज सापकोटा लगायत कलाकारहरू लाविम महल, सिटी स्क्वायर, सिभिल महल, एफक्युब लगायतका हलमा पुगेर दर्शकको प्रतिक्रिया संकलन गरेका थिए। दर्शकहरूले चलचित्रले बुवाआमालाई सम्झाएको, भावुक बनाएको र आफ्नै जीवनसँग जोडिएको अनुभव सुनाएका थिए।

मिरुनाले थपिन्, “हामी धेरै कुरा चाहेर पनि बुवाआमालाई भन्न सक्दैनौं। उहाँहरूको माया अथाह छ। दिनरात काम गरेर पनि कसरी खुसी राख्ने भन्ने कुरा भन्न सक्दैनौं। दर्शकले आफ्नो कथा चलचित्रले बोलेको भन्दै धन्यवाद दिएका छन्। जसले आफ्नो मनको कुरा भन्न सक्दैनन्, तिनले त झन् यो चलचित्र देखाउनुपर्छ।”

शुक्रबारदेखि प्रदर्शनमा आएको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले दर्शकबाट उत्कृष्ट वर्ड अफ माउथ पाएको छ। पारिवारिक उतारचढाव प्रस्तुत गर्ने चलचित्रलाई दर्शकले आफ्नै जीवनसँग जोडेर हेरेका छन्। धेरै दर्शक भावुक बनेका छन् भने केही त हलमै रोएका दृश्यहरू सामाजिक सञ्जालमा देखिएका छन्।

चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायत कलाकारको अभिनय रहेको छ।

हिमाल न्यौपाने निर्देशित चलचित्रमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत असोसिएट निर्देशकका रूपमा छन्। पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियार सिनेमेटोग्राफर हुन्। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक हुन् भने तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशकका रूपमा छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

गोविन्द शाहीको काफिया फिल्म्सले चलचित्र वितरण गरेको हो।

‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिका रहेको यो वर्षको पहिलो चलचित्र हो।