
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्य सुनिश्चित गर्न जलवायु तथा वातावरण संरक्षण अपरिहार्य रहेकोमा जोड दिनुभएको छ।
युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजनमा बनेपा नगरपालिका–३, काँसी भञ्ज्याङ क्षेत्रमा १० हजार वृक्षारोपण गर्ने कार्यक्रमको आज शुभारम्भ गर्दै मन्त्री राणाले जलवायु परिवर्तनका कारण नेपाल गम्भीर समस्यामा परेको उल्लेख गर्दै दीर्घकालीन सुरक्षाका लागि जलवायु संरक्षणमा सक्रियता आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको छ। हामीले यो अवस्था विश्व समुदायमा स्पष्ट रूपमा जानकारी गराएका छौँ। नेपाल आफैंले जलवायु संकट सिर्जना नगरेको भए पनि यसको मारमा परेको तथ्य विश्वले बुझिसकेको छ। त्यसैले अब जलवायु न्यायका लागि अझ सक्रिय भएर लाग्नुपर्ने समय आएको छ।”
उहाँले केही महिनाअघि आयोजित सगरमाथा संवादमार्फत नेपालले जलवायु परिवर्तनबाट प्रभावित भएको अवस्था र व्यवस्थाका बारेमा २५ बुँदे कार्ययोजना सार्वजनिक गरेको जानकारी दिनुभयो।
मन्त्री राणाले नेपालका तर्फबाट अन्तर्राष्ट्रिय अदालतमा पहिलोपटक उपस्थित भई जलवायु न्यायको माग सशक्त रूपमा प्रस्तुत गरेको स्मरण गर्दै अब कार्बन व्यापार, ‘लस एण्ड ड्यामेज फण्ड’ लगायतका विषयमा नेपालको पहुँच विस्तार गर्न लाग्ने जानकारी दिनुभयो।
जलवायु परिवर्तनको वर्तमान प्रभाव न्यूनीकरण गर्न र भावी पुस्ताको भविष्य सुरक्षित राख्न युवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उहाँको भनाइ थियो। उहाँले वातावरण संरक्षणसम्बन्धी कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन, थप अध्ययन–अनुसन्धान गर्न तथा नेपालको प्राकृतिक स्रोत र जलसम्पदाको संरक्षण एवं प्रवर्द्धनमा लाग्न युवा पुस्तालाई आह्वान गर्नुभयो।










