
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाहरूको निरन्तर संघर्षकै कारण महिला अधिकार र सशक्तिकरणका क्षेत्रमा आजको उपलब्धि हासिल भएको बताउनुभएको छ। नेपाल महिला सङ्घद्वारा आज आयोजित ‘विगत, वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “महिला अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। महिलाहरूले महत्वपूर्ण संवैधानिक अधिकार प्राप्त गरेका छन्, जुन सम्पूर्ण उपलब्धि उनीहरूको निरन्तर संघर्षको परिणाम हो।”
मन्त्री डा. राणाले नेपाली कांग्रेसका महिला नेतृहरू—मङ्गलादेवी सिंहदेखि शैलजा आचार्यसम्म—को योगदानको स्मरण गर्दै, ती नेतृहरू तथा अन्य महिला अगुवाहरूको लामो संघर्ष र बलिदानीले आजको महिला आन्दोलन सफल भएको स्पष्ट गर्नुभयो।
उहाँले वर्तमान अवस्था अझै पर्याप्त नभएको उल्लेख गर्दै महिलाहरूले अझै धेरै संघर्ष गर्न बाँकी रहेको धारणा व्यक्त गर्नुभयो। विसं २००७ को क्रान्तिदेखि गणतन्त्रको स्थापनासम्मका सबै आन्दोलनहरूमा महिलाहरूको सक्रिय सहभागिता रहेको स्मरण गर्दै उहाँले भन्नुभयो, “उहाँहरूकै प्रेरणाबाट हामी पनि महिला अधिकारको संघर्षमा लाग्यौँ। वर्तमान संविधान तथा नेपालका प्रचलित कानुनहरूमा महिला अधिकारको सुनिश्चितता गर्ने वातावरण निर्माण गर्न सक्यौँ।”
संविधानले सङ्घीय तथा प्रदेश संसदमा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहहरूमा ४० प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था गरेको उल्लेख गर्दै मन्त्री डा. राणाले यी उपलब्धिहरूको रक्षा गर्दै कानुनी सुनिश्चिततालाई व्यवहारिक र अर्थपूर्ण बनाउन महिलाहरूले नै निरन्तर संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
संविधान निर्माणको क्रममा महिला अधिकार सुनिश्चित गर्न आफूहरूले गरेको संघर्षको स्मरण गर्दै उहाँले थप्नुभयो, “महिलालाई राजनीतिमा सजिलो छैन। हाम्रो समाजमा अझै पनि पितृसत्तात्मक सोच हावी छ। त्यसैले महिलाहरूका लागि महिलाहरू नै लाग्नुपर्छ, लड्नुपर्छ भन्ने सोचका साथ हामीले सबै दिदीबहिनीहरूलाई जागरुक बनायौँ, सशक्त पार्यौँ र अधिकारका लागि अघि बढ्न तयार गरायौँ।”
उहाँले नेपाल मात्र नभई विश्वका अन्य देशहरूमा पनि महिलाहरूलाई राजनीति गर्न कठिन हुने अनुभव विश्वका नेतृहरूले सुनाउने गरेको जानकारी दिनुभयो।










