बिपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री डा. राणा

-


     हिडन खबर    
     भाद्र २ गते २०८२ मा प्रकाशित


काठमाडौं, २ भदौ २०८२ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशीको रिहाइका लागि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल जारी राखेको बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै मन्त्री डा. राणाले भन्नुभयो, “परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखी निरन्तर पहल गरिरहेकी छु। विगत एक वर्षमा राष्ट्रसंघीय महासभा, अन्तर्राष्ट्रिय मञ्चहरू, तथा द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा बिपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु।”

उहाँका अनुसार, गत असोजमा न्यूयोर्कमा सम्पन्न ७९औँ राष्ट्रसंघीय महासभाको अवसरमा उहाँले विश्व नेताहरू, जी७७ प्लस, जी२०, एलडीसी समूहजस्ता अन्तर्राष्ट्रिय समूहहरूसँग बिपिनको रिहाइको विषयमा ध्यानाकर्षण गराउनुभएको थियो।

त्यस्तै, दोहामा सम्पन्न एसिडी सम्मेलनका सन्दर्भमा तथा त्यसका साइडलाइन भेटघाटहरूमा पनि उहाँले बिपिनको रिहाइका लागि विषय उठाउनुभएको थियो।

इजरायल–हमास युद्धविरामको तयारी भएपछि मन्त्री राणाले सम्बद्ध देशका विदेशमन्त्रीहरूलाई फोन गरेर र नेपालस्थित राजदूतहरूसँग भेट गरी बिपिनको रिहाइमा सहयोग गर्न अनुरोध गर्नुभएको थियो।

मन्त्री डा. राणाले युद्धविरामका प्रयासहरू अघि बढेसँगै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमासमाथि बन्दीहरू रिहा गर्न दबाब दिएको उल्लेख गर्दै, नेपालले पनि आफ्ना कूटनीतिक पहलहरू थप सशक्त बनाएको बताउनुभयो।

गत माघमा कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजिज अल-खुलाइफीसँगको फोनवार्तामा डा. राणाले बिपिनलाई पहिलो चरणमै मुक्त गराउन अनुरोध गर्नुभएको थियो। खुलाइफी यस विषयमा मध्यस्थकर्ताको भूमिकामा हुनुहुन्छ।

त्यसैगरी, इजरायली विदेशमन्त्री गिडियन सारसँग पनि फोनमार्फत सम्पर्क गरी उहाँले बिपिनको नाम पहिलो चरणका मुक्त गरिने बन्दीहरूको सूचीमा राख्न आग्रह गर्नुभएको थियो।

इजिप्टका विदेशमन्त्री डा. बदर अब्देलअति र इरानी विदेशमन्त्रीसँग पनि मन्त्री राणाले फोनमार्फत सम्पर्क गरी नेपाल सरकारको तर्फबाट विशेष पहल गर्न अनुरोध गर्नुभएको थियो। उहाँ बैंककमा शल्यक्रियाको क्रममा रहँदा पनि त्यहाँबाटै यी कूटनीतिक संवादहरू जारी राख्नुभएको थियो।

त्यस्तै, चैतमा भारतको नयाँ दिल्लीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग भेट गरी बिपिनको रिहाइमा अमेरिकी सहयोगको आग्रह गरिएको मन्त्री राणाले जानकारी दिनुभएको छ।

राइसिना डाइलगमा सहभागी विभिन्न देशका नेताहरू र मन्त्रीहरूसँग पनि उहाँले निरन्तर यो विषयमा कुरा उठाउँदै आउनुभएको छ।

उहाँले थप जानकारी दिँदै भन्नुभयो, “मध्यपूर्वमा शान्तिको प्रयासमा लागिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सीसीसँग पनि प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत बिपिनको रिहाइको विषयमा ध्यानाकर्षण गराउनुभएको छ।”

मन्त्री राणाले बिपिनको रिहाइमा सहयोग गरिरहेका इजरायली सरकार, इजरायली नागरिक, त्यहाँ रहेका नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय सहयोगी सबैप्रति आभार व्यक्त गर्दै नेपाल सरकारले यस मुद्दालाई प्राथमिकतामा राखेर कुनै कसर बाँकी नराखी प्रयास गरिरहेको स्पष्ट पार्नुभयो।

उहाँले अन्त्यमा भनिन्, “इजरायली सरकारको सहयोगमा र परराष्ट्र मन्त्रालयको समन्वयमा बिपिनकी आमा र बहिनी इजरायल पुगेर इजरायली राष्ट्रपतिसँग प्रत्यक्ष भेट गरी बिपिनको शीघ्र रिहाइका लागि अपिल गर्नुभएको छ।”