
काठमाडौं भदौ २
पछिल्लो समय दोहोरी गीतहरू कलाकारहरूको भावनात्मक अभिव्यक्तिको माध्यम बन्दै गएका छन्। विशेष गरी, जीवनका सुख-दुःख, भोगाइका पीडा र समाजमा रहेका तीतामिठा यथार्थलाई उनीहरूले गीतमार्फत पोख्ने गरेका छन्।
यस्तै पीडाका कथा समेटिएको एक मार्मिक दोहोरी गीत हालै रितु बोहोरा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ, जहाँ गायिकाहरू शान्ति परियार, रितु बोहोरा र तारा थापाले आफ्ना अनुभव र भावनाहरू गीतमार्फत प्रस्तुत गरेका छन्।
गायिका शान्ति परियार गीतमा यसरी व्यथा पोख्छिन्:
“जीवनदेखि बसेछु अगाएर, नदीले नी लगेन बगाएर
डाँडै बस्यो चील, नहुनु रै’छ र, ज्यादै बस्यो दिल।”
यी शब्दमार्फत उनले जीवनमा माया र भरोसा दिएको मान्छेले धोका दिएर गएको पीडा व्यक्त गरेकी छिन्। माया, भरोसा र जीवनको आशासमेत गुमाएका क्षणहरूको मार्मिक चित्रण गरिएको छ।
रितु बोहोरा गीतमा भन्छिन्:
“सम्झौतामा बाँचेको जीवन छ, आफ्नै मनले आफैंलाई छि भन्छ।”
यहाँ उनले आत्मग्लानी, असहायपन र सामाजिक प्रतिबन्धका बीचमा जीवन बाँच्नुपरेको कठोर यथार्थ प्रस्तुत गरेकी छिन्।
त्यस्तै, शान्ति परियार अर्को लाइनमा भन्छिन्:
“छुरा रोप्यो यो मुटु माझनी, काखको छोरो बोकेर कहाँ जानी?”
उनी आफ्ना सन्तानका साथ जिउनुपर्ने तर गन्तव्य नै नभएको परिस्थितिको मार्मिक चित्रण गर्छिन्।
अर्की गायिका तारा थापा भावुक हुँदै सम्झाउँछिन्:
“मेरो यता छिनेको डोरो छ, बाँच्छने आधार तिम्रो त छोरो छ।”
यी सबै अभिव्यक्तिहरू एकल महिला, धोका पाएका पत्नीहरू, र समाजको कठोर व्यवहारका बीच जिउन बाध्य नेपाली महिलाहरूको प्रतिनिधित्व गर्छन्।
गीतले श्रीमान्-श्रीमतीको सम्बन्धमा आउने उतारचढाव, बिछोडपछिको पीडा, र समाजले थोपरेको पीडादायी परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
गीतको भिडियो अहिले रितु बोहोरा अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको छ र यसले धेरै दर्शकको मन छोएको देखिन्छ।













