
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयामहरूबारे चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध तथा साझा चासोका विषयमा विचारविनिमय भएको थियो।

अवसरमा मन्त्री डा. राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च प्राथमिकता दिँदै आएको उल्लेख गर्दै नेपालको एक प्रमुख विकास साझेदारका रूपमा भारत सरकार तथा जनताद्वारा प्रदान गरिएको आर्थिक, प्राविधिक र बहुपक्षीय सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले पछिल्ला समयहरूमा नेपाल–भारतबीच कनेक्टिभिटी अभिवृद्धि, विभिन्न तहमा भएका द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक संलग्नता (engagement) मा भएको प्रगतिको सराहना गर्नुभयो।
मन्त्री डा. राणाले दुवै देशबीच पर्यटन तथा आर्थिक गतिविधि प्रवर्द्धनका लागि हवाई, स्थल तथा रेल यातायात कनेक्टिभिटीको थप विस्तार आवश्यक रहेको उल्लेख गर्दै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतीय शहरहरूसँग थप उडान संचालन गर्न वातावरण बनाउन आग्रह गर्नुभयो। साथै, नेपालगञ्ज–दिल्ली सिधा हवाई सेवा सुरु गर्न आवश्यक पहल गर्न पनि उहाँले जोड दिनुभयो।

त्यसैगरी, भारत सरकारको सहयोगमा निर्माणाधीन धनगढीस्थित फाप्ला क्रिकेट स्टेडियमको निर्माण कार्यमा गति दिनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।
भेटका क्रममा नेपाल–भारत पारवहन सन्धिसम्बन्धी विषयमा छलफल गर्दै मन्त्री डा. राणाले व्यापार सहजीकरणको आवश्यकता औँल्याउनुभयो। साथै, प्लाईवुड, स्टिल लगायतका नेपाली उत्पादनहरूको भारत निकासीमा देखा परेको कठिनाइ, बीआईएस मापदण्ड र त्यसमा रहेका अवरोधहरूबारे समेत ध्यानाकर्षण गराउनुभयो।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजना दुवै देशका लागि लाभदायक रहेको भन्दै मन्त्री डा. राणाले यसको कार्यान्वयनमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै, बाढी तथा डुबान नियन्त्रणमा समेत आपसी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।












